Posts Tagged ‘Nabil Bank’

सांकेितक तस्विर

  • काठमाडौं र पोखरामा विदेशी एटिएम डाटा चोर सक्रिय
  • एक बुल्गेरियन सीआइबीको फन्दामा
  • १८ विदेशी नागरिक ब्युराेकाे फन्दामा 
  • एक कराेड ७५ लाख भन्दा बढि  विदेशी तथा नेपाली रूपैयाँ बरामद 

काठमाडौं– पर्यटन भिषामा आएर विदेशी तथा नेपालीहरुले प्रयोग गर्ने एटिएम मेशिनमा स्किमर मेशिन राखेर डाटा चोर्ने कार्यमा संलग्न एक विदेशी नागरिक केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को फन्दामा परेका छन ।
ब्युरोले एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न राहदानी नम्वर ३८३१७३२०० बाहक बुल्गेरियन नागरिक भिटालीय भासिलीभिच नेकिटलाई पक्रेको हो । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट नेकिटलाई शुक्रबार पक्राउ गरेको हो ।
ब्युरोका अनुसार नेकिटका साथबाट विभिन्न कार्ड १८ थान, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेको स्लिप ३ थान बरामद गरेको हो । यस्तै बिद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरू ५ थान लगायतका सामाग्रीहरु सहित नेकिट ब्युरोका फन्दामा परेका हुन।
ब्युरोमा अपरिचित पुरुषले विभिन्न बैंकका एटीएमबाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरिरहेको सूचना आएपछि ब्युरोको पिलर टु सक्रिय भएको थियो । आर्थिक अपराध हेर्ने ब्युरोको पिलर टुको अनुसन्धानमा नेकिटले नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम मेसिनमा स्किमर मेसिन जडान गरेको भेटिएको हो।
‘काठमाडौंका एटीएममा गोप्य निगरानी तथा अनुसन्धान गदै जाँदा एटिएम कार्डको डाटा चोरी विदेश लैजाने तथा अनधिकृत रुपमा रकम निकाल्ने कार्यमा निजको संलग्नता रहेको खुलेको छ, थप अनुसन्धान भै रहेको छ,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले पर्दाफासलाई बताए ।
ब्यूरोले एटिएम ठगी सम्बन्धी विभिन्न समयमा गरेको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरिसकेको छ । ब्युरोका अनुसार उनीहरुबाट नेपाली ८८ लाख ६८ हजार ८ सय ५० रुपैयाँ, अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न एटीएम कार्ड १ हजार ३ सय २६ थान बरामद गरेको छ ।
पक्राउ नेकिटलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको व्यूरोले जनाएको छ ।

Advertisements