सुनतस्करीका नाईके सोनी बिरुद्ध दुई अर्व ३९ करोडको मुद्दा
राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
विभागले सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर २६ असोजमा उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेको हो ।
रुपन्देही सिद्धार्थनगर–१२ स्थित सोनी ज्वेलर्स र सोनी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालक हुन् ।
नेपाली नागरिकता समेत लिएर उनले सुनिल सुनारको नाममा गतिविधि गर्दै आएको विभागले जनाएको छ ।
मुद्दामा सिद्धार्थनगर–६ का अमित परियारलाई पनि प्रतिवादी बनाइएको छ। परियारले सोनीलाई सहयोग गर्दै आएकाले मतियारको रुपमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
सोनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटबल उपमहानगरपालिका–११ बाट कार भित्र बोरामा लुकाएर राखेको लाखौँ नगदसहित ३० असारमा पक्राउ गरेको थियो।
विभागको अनुसन्धानमा सोनीले सुन चाँदीको अवैध आयात–निर्यात तथा बिक्री गर्ने गरेको खुलेको थियो । उनले बैंक तथा भन्सार बिन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरूलाई भुक्तानी लिने र दिने गरेको पत्ता लागेको थियो ।
विभागले सोनीले भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख ३८ हजार ८७० र आयकरतर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ छली गरेको जनाएको छ ।
प्रतिक्रिया