भक्तपुरबाट युरेनियमजस्तो देखिने पदार्थसहित २ पक्राउ
भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण खड्का र बाजुरा छेडदह गाउँपालिका–२ का २९ वर्षीय हिक्मत थापा छन् । उनीहरुको साथबाट युरेनियमजस्तो देखिने पदार्थ ३ ग्राम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले पर्दाफासलाई बताइन् ।
उनका अनुसार युरेनियम नै हो भन्ने पुष्टि भएको छैन । ‘युरेनियम जस्तो पदार्थ बरामद गरिएको हो, तर पुष्टि भइसकेको छैन,’ उनले भनिन् । यसअघि २८ फागुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ केजी ९ सय ग्राम अप्रशोधित युरेनियमसहित ४ जनालाई पक्राउ गरेको थियो ।
उक्त पदार्थको नमुनाको परीक्षण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को ल्याबमा गरिएको थियो । परीक्षणबाट युरेनियमजस्तै रेडियोधर्मी विकिरणयुक्त पदार्थ भएको नास्टले जनाएको थियो ।
नास्टले आफूसँग रेडियोधर्मी विकिरणको तह नाप्ने मात्र ल्याब भएको र यसबाट जाँच्दा युरेनियम २३८ सँग मिल्दोजुल्दो रेडियोधर्मी विकिरणको मात्रा देखिएकाले युरनियमको कच्चा पदार्थ भएको हुनसक्ने आकलन गरेको हो ।
तर, वास्तविक युरेनियम नै हो वा होइन भनेर छुट्याउन र कस्तो वर्गीकरणको हो भनेर हेर्ने क्षमता नभएको नास्टले जनाएको छ । प्रशोधित युरेनियम प्रतिकिलो अन्तर्राष्ट्रिय बजारमा १५ देखि २० अर्ब रुपैयाँमा विक्री हुने गरेको छ ।
प्रतिक्रिया