Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

नेपाली युवती बन्दैछन् ‘रिभेन्ज पोर्न’ को शिकार

प्रहरीले ‘रिभेन्ज पार्न’ को शिकार बनेकी एक युवतीको उजुरीका आधारमा अनुसन्धान गर्दा इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालमा दर्जना यस्ता गोप्य समुह पत्ता लगायो, जहाँ युवतीका नग्न तस्वीर राखेर अश्लिलता आदान–प्रदान भइरहेको थियो ।

 

 

प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्रह गर्दै गएको जेठ अन्तिम साता सन्देश पठाइन्। उनी परिचित मोडल र रात्रि क्लब संचालक हुन् । ती युवतीले बेलिबिस्तार लगाएको समस्या प्रहरी स्वयमका लागि समेत नयाँ थियो । 

 

 

उनले सामाजिक सञ्जालमा राखेको आफ्नो तस्वीर र भिडियोको अनधिकृत प्रयोग भएको, तस्वीरहरू तोडमोड गरेर सामाजिक सञ्जालका विभिन्न समुह र पेजमा राखिएको, अश्लील शब्द लेखेर सामाजिक अवहेलना गरेको भन्दै उजुरी दिएकी थिइन् । 

 


उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा निवेदन दिन प्रहरी प्रधान कार्यालयले सुझायो । उनी जस्तै विदेशमा बसोबास गरिरहेकी अर्की युवतीले पनि यस्तै समस्या प्रहरीलाई लेखेकी थिइन् ।

 

 

केन्द्रीय साइबर ब्यूरोले अहिले यी दुई घटनामा अनुसन्धान गर्दै यस्तो कार्यमा संलग्न पीडकहरूको खोजी गरिरहेको छ । ब्यूरोका प्रमुख, एसएसपी नविन्द अर्याल भन्छन,  “कसैको तस्वीर सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई अन्यत्र प्रयोग गर्नु अपराध हो, यस्तो गलत कार्यमा संलग्नहरूबारे गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौं।”

 


प्रहरीका अनुसार, साइबर ब्यूरोमा इन्स्टाग्राम र मेसेजिङ एप टेलिग्राममा खोलिएका दर्जनौं गोप्य समुह र च्यानलमा युवतीहरूका तस्वीर राखेर अनर्गल प्रचार र अश्लील रूपमा चर्चा हुने गरेको उजुरी आउने गरेको छ।

 

 

पछिल्लो समय ब्यूरोले वेब सामग्रीको रेटिङ र चर्चा गरिने साइट रेडइटमा नेपाली युवाहरूले खोलेको ‘हिमालय बेब्स’ समुह बन्द गराएको थियो । यो समुह बन्द भएपछि इन्स्टाग्राम र टेलिग्राममा यही प्रकृतिका थुप्रै समुह बनाइएका छन् । 

 

 

प्रहरीका अनुसार, इन्स्टाग्राममा काण्ड हब, बबाल इन्क, कबाडी मिम र लस्टीक्लिक ग्रुपबाट नेपाली युवतीहरू पीडित भइरहेका छन् । यी ग्रुपहरूमा नाम चलेका मोडल, कलाकार र सामाजिक सञ्जालमा सक्रिय युवतीहरूका तस्वीर निकालेर राखिन्छ ।

 

 

तस्वीरसँगै ‘समाजमा बिग्रेकी महिला’ का रूपमा परिचय राखेर युवाहरूबीच आपसमा चर्चा हुने गरेको छ । यसबाट चरित्रहत्या गर्दै मानसिक प्रताडना दिइने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै