Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

लेखकाे मर्म अनुसार तयार पारिएकाे तस्वीर हाे ।

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् । 

 

सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल न्यायालय, अख्तियार, सरकार र विपक्षीसम्म सबैका प्रिय छन् । त्यही जोडबलमा उनले मै हुँ भनेका भर्ना सिनियर डीआइजीको आँखै अगाडी चिलले झै एआइजी पद हत्याए । 

 

अरु त कुरै छोडौं, आफ्ना ब्याची बढुवामा सरकारसँग अडान थापेका ‘क्लिन चिट’ महानिरीक्षक शैलेश थापा क्षेत्री पनि चुइक्क समेत बोल्न सकेनन् ।

बढुवा सिफारिस हुनेदिन प्रहरी प्रवक्ता बषन्तबहादुर कुँवरका अनुसार ‘चिफ सा’प’ साँझ ६ बजेसम्म कार्यालयमै होइसिन्थ्यो । साढे ६ बजे फोन गर्दा सा’पले सरकारी मोबाइल सचिवालयमा छाडी बक्स्याथ्यो । अनि पौनै सात नबज्दै पोखरेल एआइजी बढुवा सिफारिस भएको पत्र सार्वजनिक भएको थियो । 

 

यो समय तालिकाले महानिरीक्षक थापा क्षेत्री बढुवा सिफारिसका एकजना हस्ताक्षरकर्ता मात्र भएको बुझ्न त्यती कठिन छैन् । 

 

पोखरेलको एआइजी बढुवासँगै यतिबेला दुई बिषय सतहमा आएका छन् । त्यो सँगै अब हुने डीआइजी बढुवा अर्को बिषय थपिएको छ । 

 

यी सबै भन्दा महत्वपूर्ण बिषय कसैले चासो दिएको छैन् । त्यो हो, प्रहरीमा सधैको रडाको बन्दै आएको बढुवा विवादलाई सधैका लागि बन्द गर्ने । यस्तै प्रहरी महानिरीक्षक बन्ने अधिकारीलाई सबै जिम्मेबारी र दायित्व सुम्पदै सोही अनुसार तालिमप्राप्त बनाउने । 

 

पोखरेल बढुवासँगै प्रहरी भित्रको ‘चेन अफ कमाण्ड ’ भत्कने एकथरीको तर्क छ । प्रहरीमा जहाँसम्म मेरो बुझाई छ, काँधका फुली हेरेर व्यवहार हुन्छ । यसको अर्थ महानिरीक्षक थापा क्षेत्रीका काँधमा एउटा तारा बढि नै छ । दोस्रो भनेको बढुवा बरियता हो । हाल रहेका एआइजीत्रय हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीपछि नै पोखरेल हुनेछन् । 

 

भलै, पोखरेल जुनसुकै शक्ति केन्द्रको बुई चढेर बढुवा भएका होउन, नक्सालभित्र उनको हैसियत पाँचौ दर्जा कै रहनेछ । 

 


रह्यो अर्को कुरा,  बढुवा बरियतामा पछि परेपनि भर्ना बरियतामा अघि रहेका डीआइजीहरुलाई उनले दाई नै भन्नेछन्, सर नै भन्नु पर्नेछ । 

 

यो हामीले प्रहरीभित्र देख्दै आएको ‘भाइचारा’ हो । यो भन्दा फरक बनेर गमक्क फुल्ने र ठम्मक परे, पोखरेल सा’प उही अवकाशप्राप्त एकजना महानिरीक्षक जस्तै अमेरिका आयातित बिचौलिया, पत्रकारको आवरणका खन्चुवा र केही राजनीतिक दलाल र वर्दीधारी ‘हस हजुर’ मार्काका प्रिय हुनेछन् । यसमा अवकाशपर्यन्त समेत घाटा पोखरेललाई नै हुनेछ् । 

 

अब, सबै गन्थनपछि आउनुहोस, ताली ठोक्ने कुरो झिकौं । 

 

प्रहरी महानिरीक्षक थापा क्षेत्री र उनको कोर टिम एआइजीत्रय पाल, शाही र कार्की २०४९ बैशाख १९ मा सेवा प्रवेश गरेको टोली हो । एआइजी बढुवा सिफारिस भएका पोखरेल २०४९ चैत्र ११ सेवा प्रवेश गरेका हुन् । 

 

महानिरीक्षक सहित चार भाईले २०७९ बैशाख १९ मा अवकाश पाएपछि पोखरेल सरकारले चाहेमा महानिरीक्षक हुनेछन् । उनी २०७९ चैत्र ११ सम्म महानिरीक्षक हुनेछन् । 

 

२७ बैशाख २०७६ मा डीआइजी बढुवा भएका पोखरेलले १८ महिना यो पदका चुनौती, जिम्मेबारी, दायित्व र कर्तब्यसँगै ‘मोज र भोज’ गरे । अबका १७ महिना उनले एआइजीको जिम्मेबारी सम्हाल्ने छन् । त्यसपछि प्रहरी नियमावलीमा चलखेल नभए करिब ११ महिना महानिरीक्षक बन्नेछन् । 

 

प्रहरीमा अवकाशप्राप्त महानिरीक्षक कुबेरसिंह रानापछि एक महानिरीक्षक ( उपेन्द्रकान्त अर्याल)  केही दिन र हालका थापा क्षेत्री केही महिना एआइजी र दुइजना डीआइजीबाट (प्रकाश अर्याल र सर्वेन्द्र खनाल )  महानिरीक्षक बने । 

 

जग जाहेर छ, कुबेरसिंह रानाको कार्यकालको उतराद्धबाट प्रहरीमा सुरु भएको बिग्रदो ग्राफ अहिले शैलेश थापा क्षेत्रीको पालासम्म उकालो लाग्न सकेको छैन् । भलै अघिल्ला दुई महानिरीक्षकको कार्यकालमा झै गुटबन्दी र छुटबन्दी प्रत्यक्ष नदेखएिको होस, थापा क्षेत्रीको फिल्ड कमाण्ड कमजोर रहेको तथ्य भने उनले पोखरा जाने बाटो तनँहुको भिड देखेर हेटौडा मोडेपछि सबैले बुझीसके ।

 

प्रहरीभित्र राजनीतिक बिचौलिया, ठेकेदार र आयातित एनआरएनसम्मको बोलवाला हुनुका पछाडी नेतृत्व अनुभवी नहुँदा पनि हो । यस्तै संगठनको दीर्घकालिन प्रारुप कागजमा तयारगर्ने नेतृत्वसँगै फौजलाई एकढिक्का राख्दै फिल्डमा कुशल नेतृत्व दिने, जोखिम मोल्न सक्ने, कुटनीतिक र रणनीतिक नेतृत्व प्रहरीमा आवश्यक छ । जसलाई पोखरेलबाट सुरुवात गर्न सकिन्छ । 

 

पोखरेलले जसरी अहिले र अघिल्लो अनि त्यसअघिका बढुवामा सबै राजनीतिक दल, न्यायालय, बिचौलिया र अख्तियारसम्मलाई ‘ब्यालेन्स’ राखे त्यो प्रहरी संगठनको दीर्घकालिन विकासका लागि आवश्यक छ । 

 

केही महिनाका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले जसरी कर्मचारीतन्त्र र राजनीतिक तन्त्रसँग जोरी खोजेर भन्दा उनीहरुलाई मनाउदै ध्रुबबहादुर प्रधान र रविन्द्रप्रताप शाह मोडलमा प्रहरी संगठनलाई अघि बढाउन जरुरी छ । 

 

त्यसका लागि महानिरीक्षक खारिएको र चौतर्फी कसीमा तारिएको हुनुपर्छ । जसले अघिल्ला महानिरीक्षकका गल्ती सच्याउदैं उनीहरुले बसालेका असल थितीलाई पच्छयाँउदै संगठन हाक्न सकोस । एउटा त्यस्तो महानिरीक्षक जसले बहुमतमा रहेरपनि ओहदाका कारण सधै अल्पमतमा रहेका संगठनका साना भुईमान्छेहरुको समस्या समाधान गर्न सकोस । 

 

यस्तै अब, रिक्त नौ डिआइजीका लागि तीनवटा भर्ना मितीमा करिब एकै–एकै पटक वरिष्ठ उपरीक्षक बनेकाहरु लिगलिगे दौडमा छन् । 


हालका महानिरीक्षक थापा क्षेत्रीसँगै भर्ना भएको टोली छ । जसमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालले खसालेका गणेशबहादुर ऐर छन् । यस्तै पुरुषोत्तम कँडेल, दिलिपकुमार चौधरी ( एसपी बढुवामा हाइजम्प), राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोगटी, शौरभ राणा ( तत्कालिन गृहसचिव प्रेम राई पीडित ), रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारी ( एसएसपी बढुवा २०७५ जेठ ३)  छन् । 

 

यो टोली २०७४ साउन १९ मा एसएसपी बढुवा भएको हो । यही ब्याचमा पाँचौ बढुवा बरियतामा रहेका दिवेश लोहनी  ( भर्ना २०४९ चैत्र ११) छन् । उनी आफ्नै ब्याची र मुडी स्वभाव तथा हालसम्म खुल्न नसकेको कारण जेलनेल सहेर आएका छन् । मुद्दा अझै बिचाराधीन छ । उनले न्याय पाउँन ढिलो हुँदा उनी नियमित वृत्ती विकासबाट बञ्चित भइरहेका छन् । प्रहरीको यो दीर्घ रोगको उपचार पनि अब आउने महानिरीक्षकले  खोज्नु पर्नेछ । 

 

यसपछि लोहनीकै ब्याचका शुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदिपकुमार श्रेष्ठ छन् । 

 

यो समुह २०७५ जेठ ३ मा एसएसपी बढुवा भएको हो । 

 

२०५१ चैत्र ५ मा प्रहरी सेवामा प्रवेश गरेका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, मिरा चौधरी, किरण बज्राचार्य, पोषराज पोखरेल, बषन्तबहादुर कुँवर र रामदत्त जोशी पनि डीआइजी बढुवा दौडका बलिया दावेदार हुन् । यही समुहका डा गणेश रेग्मी जो २०४७ माघ १ का भर्ना हुन् उनी पनि छन् । 

 

यो समुह २०७५ फागुन ६ मा एसएसपी बढुवा भएको हो । 

 

यी बाहेक प्रहरी संगठनमा नाम र कामले स्थापित अर्को गर्भे टुहुरो टोली छ ।

 

यसलाई टुहुरो यसकारण भनिएको हो, यो समुहका ६ सदस्य प्रहरी इतिहासमा पहिलो पटक मन्त्रिपरिषद् निर्णयले प्रहरी निरीक्षक बनेका हुन् ।

 

सरकार परिवर्तनको त्यो लहडमा प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालिन गृहमन्त्री) ले निर्णय गराएका हुन् । यो टोली समेत २०५१ चैत्र ५ कै टोलीसँगको हो । 


यो टोलीलाई तीन चरणमा नियुक्ती दिइएको थियो । 


दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल २०५२ भदौं १९ मा प्रहरी सेवा प्रवेश गरेर २०७५ फागुन ६ मा एसएसपी बनेका हुन् । यतिबेला यो समुहका यी तीन र माथिल्लो तीन समुहका ६ जनालाई बढुवा गर्ने तर्क बालुवाटारमा चलिरहेको छ । 


गृहमन्त्रीका रुपमा प्रहरी संगठन बुझेका प्रधानमन्त्री ओली प्रहरीभित्र स्थायी सरकारको खाँचो अनुसार यी तीनलाई अघि बढाउने योजनामा रहेको बालुवाटारतिरकै एकले सुनाएका थिए । यो टोलीको भर्ना कथा सुनाएका ती मनुवाको तर्क थियो । 


विश्वराजले बाजी मारो भन्दैमा रोइलो गर्ने कि संगठनमा प्रहरी महानिरीक्षकका लागि हुने ‘नवराज सिलवाल’ रमिता दोहरिन रोकियो भन्ने । अनि यो २०५१ र २०५२ टोलीलाई अहिले डिआइजी बनाएर विश्वराजकै टोलीका तीनलाई एआइजी बनाउने त्यो टोली गएपछि यी मध्ये एकलाई एआइजी र यही टोलीमा रहेका अन्यलाई अघि बढाउने । 


बालुवाटारका ती मनुवाको कुरो पनि ठिकै हो ।  अहिले देखि नै महानिरीक्षकका लागि तयारगर्दै लैजाने र पछि नेतृत्व दिने । 


यहाँ कुरो र कुलो जता बगायौं उत्तै बग्छ । 

 

प्रहरी सेवामा आएपछि सबै पदमा बस्ने रहर सबैलाई हुन्छ । तर सबैको रहर पुगाउन संगठनलाई खहरेमा धकेल्न पनि भएन । कसैले न कसैले आज नभए भोली यो कठोर निर्णयमा बलिको बोको बन्नु नै छ, भनेपछि अहिले नै किन होइन? यो पनि अर्को तर्क हो । 


बस, सुटकेश, नातावाद र कृपावाद नचलोस । केही दिन अघिपछिका सबै एसएसपी रहेछन् । सबैको कार्य संम्पादन मूल्याँकन र ट्रयाक रेकर्ड केलाउ सरकार । सबैलाई एउटै घानमा नहाल । लेखेको र देखेको पत्याउ । लाएको र लगाइएका कुरा मिल्काउ । 


लौन् सरकार डुब्न लागेको यो प्रहरी संगठनलाई फेरि एकपटक ‘ध्रुबे’ पारामा लैजाउ । 


चित्त बुझाउनेलाई जदौं, नबुझाउनेलाई पनि जदौं । केही कुरो भए तल कमेन्ट छ, छाती खोलेर त्यही सुनाउ ।

 

लौ साथी हो यत्ति हो कुरो, पुग्यो होला चुरो । 


ठोकोताली ! 

 

(ठोकोताली समाचार, बिचार, बिश्लेषण र ब्यङग्यको रोचक तथा घोचक प्रस्तुती हो । यसमा प्रस्तुत बिषय कुनै ब्यक्ति विशेष नभई समग्र प्रवृत्तीप्रति लक्षित हो ।) 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै