सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत रहेका ओलीले जंगी अड्डामा सेमिनारको सुरुवात गरेका हुन् ।

 

मन्त्रिपरिषद्बाट २३ असार २०७७ मा स्वीकृत भएको ‘राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना’ बमोजिम सेमिनारले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुको पहिचान गरी नीति निर्माणका लागि सरकारलाई सिफारिस गर्नेछ ।

 

सेमिनार मुख्य रुपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरु र सम्बद्ध विभिन्न निकायहरुको भूमिकामा केन्द्रित रहने जनाइएको छ । सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमा पारिका समकक्षीहरुसंगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने तरिकाहरु तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तुहरु समेत समेटिने जनाइएको छ ।

 

यस प्रकारका कार्यक्रमले नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

 

यो सेमिनार पहिलो दिन जंगी अड्डा र दोस्रो दिन सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा सञ्चालन हुनेछ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा तथा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालेसेमिनारको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा खबर