सीमा सुरक्षा बलियो बनाउन सशस्त्र प्रहरीको ‘डेडिकेटेड फोर्स’ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमिनारको समापनमा थापाले यस्तो बताएका हुन् ।
सीमा सुरक्षा तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै उनले सशस्त्र प्रहरीलाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्न लागिएको जानकारी दिए ।
मन्त्री थापाले बोर्डर आउट पोष्टको संख्या २०५ बाट बढाई पाँच सय वटा पु¥याउने सरकारको कार्यनीति रहेको बताए । सीमा सुरक्षा सरकार र गृह मन्त्रालयको मात्र नभई सबैको साझा दायित्व भएकोले आपसी समन्वय तथा सहकार्यमा समान दृष्टिकोण र औपचारिक संयन्त्रबाट प्रभावकारी रुपमा सीमा सुरक्षा र व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
यसका लागि एपीएफलाई सम्बद्ध सबै निकायले आवश्यक समन्वय र सहयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरीलाई डेडिकेटेड फोर्सको रुपमा सीमामा खदाइदा आवश्यक पर्ने थप सैद्धान्तिक तथा प्रभावकारी उपायहरुको खोजी तथा अवलम्बनमा सेमिनारबाट सहयोग पुग्ने उल्लेख गरे ।
सीमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण भौतिक स्रोतसाधन तथा अन्य पूर्वाधार निर्माणमा प्राथमिकताका साथ अगाडि बढ्ने उनले बताए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफले शान्ति सुरक्षा तथा सीमा सुरक्षाको उत्तरदायित्व वहन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।
एपीएफले कोभिड–१९ महामारीमा १ हजार २१३ स्थानमा बिओपी तथा एफओबीको माध्यमबाट अहोरात्र सीमा क्षेत्रमा खटिई आवतजावत नियन्त्रण गरिरहेको उनले जानकारी दिए । सीमा स्तम्भ सुरक्षा, खोजी, पहिचान र डिजिटल अभिलेखीकरण तथा संरक्षण कार्यबारेको प्रतिवेदनहरु सम्बन्धित निकायमा समयमै प्रेषित भइरहेको र विगत तीन वर्षदेखि सीमा अतिक्रमण र सीमा मिचिने कार्य नभएको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषदका सहसंयोजक उपरथी सहदेव खड्काले सीमा सुरक्षा तथा व्यवस्थापनमा प्रभावकारी समन्वयको खाँचो औंल्याए । सेमिनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागबाट कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । सेमिनार माघ २५ र २६ गते सञ्चालन भएको थियो ।
प्रतिक्रिया