कोरोना खोप किन्न सरकारले सूचना निकालेर माग्यो पैसा
सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो ।
‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा भनिएको छ ।
खोप खरिद गरी न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको सरकारले जनाएको छ ।
मन्त्रालयले गत कात्तिक २४ गतेको निर्णयअनुसार भन्दै आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी निःशुल्क वितरण गर्न रकमको आवश्यकता परेकोले आह्वान गरिएको भनेको छ ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना :
प्रतिक्रिया