शिवपुरीमा सुरु भयो कमाण्ड तथा स्टाफ तालिम
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २८ औं ब्याचको कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा बलाधिकृत रथी शर्माले तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै तालिमको सफलताको लागि शुभकामना दिएका थिए । सोहि अवसरमा उक्त तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले कलेज परिसरमा रहेको “कैलाश ग्रीन” ग्राउण्ड ईलाकामा आ(आफ्नो देशको झण्डोत्तोलन समेत गरे ।
मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जना सहित ५९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ अधिकृतहरुलगायत श्रीलङ्का, केन्या (महिला अधिकृत), नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका १र१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ७२ जना अधिकृतहरु सहभागी छन् ।
२०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले २०५० भाद्र २० गतेदेखि १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९८१, विभिन्न मित्रराष्ट्रहरुका ८९, नेपाल प्रहरीबाट १२, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १५ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ११२२ जना शिक्षार्थी अधिकृतहरु उक्त तालिमबाट दिक्षित भएका छन् ।
कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर संचालन गरिएको उक्त कार्यक्रममा बालाधिकृत रथी शर्मा, पुर्व कमाण्डाण्टहरु, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनीधिहरु, रक्षा मन्त्रालयका सह सचिव, मित्रराष्ट्रका सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया