बैतडीकी १७ वर्षीय किशोरी भागरथीको बलात्कारपछि हत्या, प्रदेश प्रहरीले बनायो विशेष अनुसन्धान टोली
प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ ।
प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीले बिहीबार बिहान भेटिएको किशोरीको शव चिकित्सक, सरोकारवाला र स्थानियको रोहबरमा विधिवत मुचुल्का गरेर उठाएको बताए । उनले घटना अनुसन्धानका लागि खटिएका तालिमप्राप्त कुकुरहरुले केही संकेत गरेपनि पानी परेका कारण उनीहरु यकिन स्थानसम्म पुग्न नसकेको बताए ।
‘प्रारम्भीक अनुसन्धानमा किशोरीलाई कुटपीट भएको छ,’ डीआइजी सुवेदीले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान थालेको छौं, चाडै परिणाम आउने छ । ’
बिहीबार बिहान बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको थियो । उनको शव फालेको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटिएको हो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनलाई कुटपीटपछि हत्या गरेको फालेको खुलेको छ । उनका शरिरमा घाउचोटका निशानहरु भेटिएको छ ।
मृतक किशोरीका आफन्त शिवराज भट्टका अनुसार बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजे उनको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको हो ।
‘उनको शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको अवस्थामा छ,’ भट्टले भने । मृतक किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।
घटनास्थलको प्रकृतिले हत्या भएको प्रहरीको प्रारम्भीक भनाई छ । प्रहरीका अनुसार बीच जङ्गलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ । यसले युवतीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा बल पुगेको छ । प्रहरीेले थप अनुसन्धानपछिमात्र यस बिषयमा बताउनसक्ने जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया