बाग्लुङ घटनामा संलग्नको पहिचान खुल्यो, पक्राउ गर्ने तयारीमा प्रहरी
बाग्लुुङमा होलीको मेलामा झडपपछि दुई युवाको मृत्युका विषयमा प्रहरीले घटनामा संलग्नको पहिचान गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनामा संलग्नहरुको नामावली तयार पारेको हो ।
जिल्लाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुन मल्लका अनुसार घटनामा संलग्न भनिएका केही युवाको नामावली पारी उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको पर्दाफासलाई जानकारी दिए । घटना भएलगत्तै एसपी मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।
निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार आइतबार राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।
मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा आइतबार राति नै ल्याइएको हवारीले बताए । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो । अन्य केही भएको भन्दै बेपत्ताको खोजी भइरहेको छ ।
मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत थिए । बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्र बुढाका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाबीच भनाभन हुँदा झडप भएको थियो ।
प्रतिक्रिया