आधार शिविरमा पुग्यो सेनाको हिमाल सफाई टोली
सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित सफा हिमाल अभियान २०२१ को टोली आ आफ्ना आधार शिविरमा पुगेका छन् ।
नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरुको योजनानुसार गत टोली गत बुधबार आ आफ्नो आधार एरियामा पुगेका हुन् ।
आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्न गरेका छन् ।
प्राय: सबैजसो आधार शिविरहरुमा भारी हिमपात भइरहेकोले मौसम अनुकुल रहेको खण्डमा योजनानुसार भोलि मिति वैशाख ११ गते देखि नै फोहोर संकलन गर्ने कार्य शुरु गरिने नेपाली सेनाले जनाएको छ ।
उक्त टोलीहरु स्थानीय सरकार, सम्बद्ध तथा सरोकारवाला संघसंस्थाहरु एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्यमा जेष्ठ १० गतेसम्म फोहोर संकलनमा सक्रिय रहने छन् ।
टोलीलाई कोकाकोला कम्पनी, यूनिलिभर नेपाल, इसिमोड, डब्लुडब्लुएफ नेपाल, पोलिमेट, नेपाल डिष्टिलियरी, प्लास्टनेपाल फाउन्डेसन, पिक प्रमोसन कम्पनी, यति एयरलाइन्स, हिमालय क्लाइमेट इनिसियटिम, एभनी सेन्टर, एभनी भेन्जर तथा साथै नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना लगायतले साथ सहयोग गरेका छन् ।
प्रतिक्रिया