कोकाकोलालाई नेपालबाट लाभांश लैजानमा रोक, २ अर्बभन्दा बढीको शंकास्पद कारोबार
नेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको लाभांश नेपालबाट बाहिर लैजान रोकेको छ ।
कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभांश नेपालबाट फिर्ता लैजानमा रोक लगाएको हो ।
यो घटनाको ब्रेक तथा फ्लोअप गरिरहेको अनलाइन न्युजकारोबार डटकमले यो समाचार बाहिर ल्याएको हो ।
उसका अनुसार बोटलर्स नेपालका रहेको ७६ दशमलव १७ प्रतिशत स्वामित्व सन् २००४ देखि नै चलाखीपूर्ण तरिकाले बारम्बार कोकाकोला, साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को) र फेरि कोकाकोलाकै बीचमा किनबेच भइरहेको खेलपछि राष्ट्र बैंकले कम्पनीको लाभांश फिर्ता लैजानबाट रोकेको हो ।
‘बोटलर्सको बहुमत सेयर किनबेचमा निकै चलाखीपूर्ण तरिकाले स्वामित्व हस्तान्तरण भएको देखियो, नेपाललाई थाहै नदिइ कम्पनीको बहुमत सेयर नेपाल बाहिरै किनबेच भएको र नेपाललाई स्वामित्व हस्तान्तरणका विषयमा गुमराहमा राखेको पाइएपछि राष्ट्र बैंकले लाभांश फिर्ता लैजानबाट रोकेको हो,’ नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीको भनाई उद्धृत गर्दै न्युज कारोबारले लेखेको छ ।
राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार बोटलर्स नेपाल लिमिटेडले २०७४ साउन २६ गते बोटलर्सको स्वामित्वधारी सिंगापुरको एफएन्डएन (फिजर एन्ड निभ) कोकाकोला पीटीई लिमिटेडको सेयर दुबईस्थित कोकाकोला साब्को एसिया लिमिटेडलाई बेचिएको हुँदा विदेशी लगानी लेखांकन गरिदिन भन्दै पत्र लेखेको थियो ।
‘बोटलर्सको ७६ प्रतिशतभन्दा अधिकको सेयर स्वामित्व त्यसरी किनबेच हुँदा कतिमा किनबेच भयो, कुन स्वामित्वधारकले के सर्तमा ग्रहण गर्यो भन्ने कुनै पनि सहायक दस्तावेजहरू कम्पनीले न राष्ट्र बैंकलाई बझायो, न त कम्पनी रजिष्ट्रारको कार्यालयमा नै,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७५ वैशाख ८ मा राष्ट्र बैंकसँग थप राय मागियो, जबकी राष्ट्र बैंकले त्यसअघि नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अतिरिक्त जानकारीको माग गरेर पत्राचार गरेको थियो ।’
दुवै निकायबाट मागिएका सेयर स्वामित्व किनबेचसम्बन्धि थप दस्तावेजहरू बोटलर्स नेपालले प्रस्तुत गर्न नसकेपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ यताका लाभांश फिर्ता लैजानबाट रोकेको हो ।
कम्पनीको क्षमता विस्तारका नाममा बोटलर्स नेपाल र बोटलर्स तराई लिमिटेड दुवैका नाममा सन् २००५ यता स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडबाट करिब साढे ६ अर्ब रूपैयाँ ऋण लिइसकिएको छ । सोही ऋण र आन्तरिक आयबाट बोटलर्स नेपालले प्लास्टिक बोटलिङ प्लान्ट, पानी प्रशोधन प्लान्ट र भरतपुरमा नयाँ आधुनिक बोटलिङ प्लान्ट विस्तार गरेको उसको वार्षिक प्रतिवेदनबाट प्रष्ट हुन्छ ।
सम्बन्धित समाचारः बहुराष्ट्रिय कम्पनी कोकाकोलामा राजस्वको छापा, ठुला मिडिया ‘तै चुप मै चुप’
सन् २००४ मै अमेरिकी कोकाकोला कम्पनीले आफ्नो ७६ प्रतिशत सेयर कोकाकोला साब्को पीटीर्ई लिमिटेडलाई १ करोड ४० लाख अमेरिकी डलरमा बेचे पनि त्यसको एक वर्षपछि २०६१ मा मात्र राष्ट्र बैंकलाई यसबारे जानकारी दिइएको थियो । जुन कारोबारमा लाग्ने पुँजीगत लाभकर पछि चूडामणि शर्माको कर फछ्र्यौट आयोगमार्फत थोरैमात्र कर तिरेर मिलान गरिएको थियो ।
त्यसबेला बोटलर्स नेपालले तिर्नुपर्ने कुल कर ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँमध्ये चुडामणी आयोगले २३ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरी बाँकी साढे ४३ करोड मिनाह गराइदिएको थियो ।
सवा २ अर्ब रुपैयाँको शंकास्पद भुक्तानी
‘लाइन विस्तार’को नाममा बोटलर्स नेपालले सिंगापुरको फुड एन्ड बेभरेज सोलुसन्स (फ्याब्स)लाई समेत नेपालको प्रचलित कानुनविपरीत भुक्तानी गरेको पाइएको छ । फ्याब्सले विश्वव्यापी रूपमा नै कोकाकोलाका उत्पादन लाइन विस्तारको काम गर्छ, तर नेपालभित्र भएको कामको विदेशी कम्पनीलाई भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबारसम्बन्धि अनुमति लिनुपर्छ ।
फ्याब्स नेपालमा दर्ता नभएका कारण सन् २०१४–१५ मा भएको लाइन विस्तारको भुक्तानीमा वैधता दिलाउन एउटा नेपाली कम्पनीलाई पछि कृत्रिम रूपमा साझेदारका रुपमा उभ्याइएको स्रोतको दाबी छ ।
स्मरणीय छ, हालैमात्र कम्पनीको ७६ प्रतिशत सेयर दुबईस्थित साब्कोले फेरि एटलान्टा (अमेरिका) स्थित कोकाकोला बोटलिङ प्लान्टलाई बेचेर नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले यही मंसिर २३ गते बोटलर्स नेपालमा छापामा मारेर कम्पनीका महत्वपूर्ण दस्तावेज, कम्प्युटर, ल्यापटप कब्जामा लिएर अहिले अनुसन्धान गरिरहेको छ । नेपाल बाहिर भएको यो सेयर किनेबेच कारोबार कतिमा गरियो भन्ने मूल दस्तावेज नै लुकाइएको छ ।
‘सन् २००४ को नजिर हेर्दा वास्तविकभन्दा निकै कम मूल्यमा कारोबार भएको देखाइ अर्बौँ रुपैयाँको पुँजीगत लाभकर छल्ने नियत देखिन्छ, जबकी मूल स्वामित्व किनबेच हुँदा प्रचलित बजार मूल्यमा सम्पत्ति र सेयरको गणना गरिन्छ,’ राजस्वसम्बद्ध एक अधिकारी भन्छन्, ‘प्रचलित सेयर मूल्यका आधारमा अहिले बोटलर्स नेपालको कुल बजार पुँजीकरण साढे ३ अर्ब रूपैयाँभन्दा बढी छ, यस हिसाबले यसका चलअचल सम्पत्तिसम्तका गणना गर्दा १६-१७ अर्बभन्दा बढीमा सेयर किनबेच गरिएको देखिन्छ ।’
विदेशी कर्मचारीको तलब भुक्तानीमा समेत अपव्याख्या
कम्पनीमा कार्यरत साना र तल्ला तहका नेपाली कर्मचारीका लागि ऐनकानुनमा पालमना कडीकडाउ गर्ने बोटलर्सका विदेशी व्यवस्थापकले भने यहाँको कानुनको अपव्याखा गरेर कर छल्ने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनियमसम्बन्धी व्यवस्थाले नेपालमा कार्यरत कुनै पनि विदेशी नागरिकले यहाँ भुक्तानी लिने पारिश्रमिकको ७५ प्रतिशत आफ्नो मुलुकमा लैजान पाउने व्यवस्था गरेको छ, तर कोकाकोलाका उच्च व्यवस्थापकहरूले आफ्नो गृह मुलुकमा नै ७५ प्रतिशत पारिश्रमिक बुझेर, नेपालमा भुक्तानी लिइने २५ प्रतिशतलाई सत प्रतिशत देखाइ त्यसको ७५ प्रतिशत आफ्नो गृह मुलुक पठाउने गरेको स्रोतले जानकारी स्रोतका अनुसार बोटलर्स नेपालका कुल कर्मचारी खर्चको करिब ३० प्रतिशत पाँच जना भारतीय व्यवस्थापकले भुक्तानी लिने गरेका छन् ।
कम्पनीको वार्षिक प्रतिवेदन २०७६/७७ अनुसार कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले गत वर्ष तलब र अन्य सुविधा गरेर ८ करोड रुपैयाँ भुक्तानी लिएका थिए ।
प्रतिक्रिया