पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’
नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।
महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए । यो चार ‘स’ को सूत्रमा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारी रहेको प्रधानसेनापति थापाको भनाइ छ ।
आफ्ना अग्रज पूर्वसैनिकका लागि ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारः आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मुख्य थिम (नारा) नै नेपाली सेनामा स्थापित रहेको प्रधानसेनापति थापाले बताए ।
अवकाश प्राप्त आफ्ना अग्रजको राम्रो व्यवस्थापन हुन् सकोस् भन्ने ध्याउन्न सधैँ हुने गरेको उनको भनाइ छ । मातृभूमिका लागि संविधानले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपाली सेना जस्तोसुकै कठिन परिस्थितिको सामनाका लागि तयार रहेको बताउँदै उनले सेना राष्ट्र र जनताको आस्था एवं भरोसा रहेको स्पष्ट पारे ।
प्रधानसेनापति थापाले यो आशा, भरोसा र आस्था कहिल्यै कमजोर हुन नदिन नेपाली सेना प्रतिबद्ध रहेको उल्लेख गरे ।
समारोहमा भूपूसैनिक र आश्रित परिवारको आर्थिक स्तरोन्नति गर्न सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिइएको थियो ।
यो कोषमा अहिले रु ५८ अर्बभन्दा बढी रकम सञ्चित भइसकेको समारोहमा स्पष्ट पारिएको छ । समारोहमा चार वा सोभन्दा बढी आफ्ना सन्तानलाई नेपाली सेनामा भर्ना उत्प्रेरित गर्ने २८ अभिभावकलाई सम्मानित गरिएको छ ।
त्यसैगरी चार जना अपाङ्ग तथा अशक्तलाई बैशाखी (ह्विलचेयर) र छ जनालाई लघुवित्त कार्यक्रम तथा महिलाउद्यमशिलता कर्जा प्रदान गरिएको छ । त्यसैगरी दुई जना सर्वोत्कृष्ट लघुवित्त व्यवसायीलाई प्रधानसेनापति थापाले सम्मान पनि गरे ।
प्रतिक्रिया