नेपाल पक्षको राजीनामा नगर्ने निर्णयले कसलाई फाइदा ?
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसहरुको आज बसेको बैठकले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ । यो निर्णयले मुलुकको राजनीतिक समीकरणमा पुनः हेरफेर हुने देखिएको छ ।
नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ, जसले प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना सकिएको छ । यस्तै, जनता समाजवादी पार्टीले भने आफ्ना सांसदलाई मत दिने विषयमा ह्वीप जारी गरेको छैन ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले प्रधानमन्त्रीको विपक्षमा मत दिने सम्भावना छ । अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले भने हिजो प्रधानमन्त्रीसँगको भेटमा तटस्थ बस्ने सुनाएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए प्रधानमन्त्री पदबाट हट्नेछन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत प्राप्त दललाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने र त्यो नभएका कारण दुई वा दुई भन्दा बढी दललाई बहुमत पुर्याउन समयसीमा दिनेछिन् ।
तर, नेपाल पक्षले राजीनामा नदिँदा त्यो सम्भावना पनि तत्काललाई टरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका यादव पक्षले आज नेपाल पक्षबाट राजीनामा आए बहुमत पुर्याएर सरकार बनाउने प्रयासमा थिए ।
हाल संसदमा २७१ सांसद छन् । बहुमतका लागि १३६ सांसद आवश्यक हुन्छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक) र जसपाका ३२ (पूर्वसमाजवादीका १६ र पूर्वराजपाका १६) सांसद छन् ।
नेपाल पक्षका २० सांसदले राजीनामा दिए २५१ सांसद बाँकी हुने र सरकार बनाउन १२६ सांसद भए पुग्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्थामा कांग्रेस, माओवादी र जसपाका यादव पक्ष मिलेर सरकार बनाउने सम्भवना हुने थियो । तर, अब अन्य दलले बहुमत पुर्याउन सक्ने देखिँदैन ।
अर्को सरकार बन्ने सम्भावना भएका कारण ओलीले आफूलाई मतदान नगरे पनि नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्न सक्ने छैनन् । अन्य दलले बहुमत पुर्याउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।
तर, प्रधानमन्त्रीले ३० दिनमा विश्वासको मत लिन नसकेमा पुनः सरकार ढल्नेछ । त्यसपछि राष्ट्रपतिले बहुमत पुर्याउन सक्ने व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र उसले पनि ३० दिनमा विश्वासको मत पाउन नसकेमा मुलुक निर्वाचनमा जाने देखिन्छ ।
नेपाल पक्षका सांसदहरुले हाल संसदमा अनुपस्थित रहने जनाएका छन् । तर, नेपाल पक्षका केही सांसदहरु भने प्रधानमन्त्री ओली पक्षसँग वार्तामा छन् । केही घन्टाभित्र दलहरुबीचको उतारचढावले मुलुकको राजनीतिक समीकरणमा फेरि फेरबदल हुन सक्नेछ ।
प्रतिक्रिया