निकुञ्जभित्र भेटियो सैनिकको शव, हत्या भएको आशंकामा परिवारले दिए उजुरी
चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिक मृत फेला परेका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।
उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको चितवन प्रहरीका डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए ।
त्यसै क्रममा सोमबार शाहीसहित तीनजना सैनिक गाउँ आएका थिए । ‘तर, फर्कने क्रममा राप्ती खोला तर्ने क्रममा दुई जना र शाही अघिपछि भए,’ डीएसपी थापाले भने, ‘त्यसपछि हराएका शाहीको भोलिपल्ट शव फेला परेको हो ।’
शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले बताए ।
शाहीको परिवारले अहिले राप्तीमा मान्छे बगाउन सक्ने पानी नभएको र शाही पौडिन पनि सक्ने भएकाले हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।
प्रतिक्रिया