अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै
नेपाल धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचना चुहाएर कारोबार) को आशंकामा अजोड इन्स्योरेन्स लिमिटेडमाथि अनुसन्धान थालेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आवश्यक सूचना मगाएर अनुसन्धान थालेको हो ।
गत १६ चैतमा समग्रमा सेयर बजार घट्दा समेत अजोडको पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरिएको थियो ।
कम्पनीको १७ चैतमा ८५३ रुपैयाँ र १६ चैतमा ७७६ रुपैयाँ प्रतिकित्ता कारोबार भएको थियो । १७ गते कम्पनीको ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । कारोबार समयमा नै कम्पनीको सञ्चालक समितिको बैठक बसेर हकप्रद सेयर घोषणा भएको थियो ।
सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएकाले लगानीकर्ताहरुले इन्साइडर ट्रेडिङ भएको भन्दै कारोबार रद्द गर्नुपर्ने माग गरेका थिए । नेप्सेले यस विषयमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जनाएको थियो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको पर्दाफासलाई जानकारी दिए । ‘धितोपत्र बोर्डले यसमा अनुसन्धान गरिरहेको छ । यसमा हामीले आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तै, कारोबारका विवरण कस्ता थिए जस्ता सूचनाहरु उपलब्ध गराइरहेका छौं,’ प्रवक्ता पराजुलीले भने, ‘केही दिनमै अनुसन्धानको निष्कर्ष आउनेछ ।’
दोस्रो बजारमा कारोबार गरिरहेको अजोड इन्स्योरेन्सको सेयर एकाएक उकालो लाग्नुको कारण व्यवस्थापन पक्षले नै दोस्रो बजारबाट ठूलो मात्रामा सेयर खरिद गरेको आशंका गरिएको छ ।
अजोड इन्स्योरेन्सको विषयमा बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले सेयरसम्बन्धी विषय भएकाले समितिको क्षेत्राधिकारमा नपर्ने पर्दाफासलाई बताए । ‘यस विषयमा कसैले उजुरी गरेमा मात्र हामीले कम्पनीलाई स्पष्टीकरण सोध्ने जस्ता प्रक्रिया अघि बढ्न सक्छ,’ अधिकारीले भने, ‘नत्र भने यो त सेयर कारोबार सम्बन्धी विषय धितोपत्र बोर्डले नै अनुसन्धान गर्ने हो ।’ उनले यस विषयमा समितिको ध्यानाकर्षण भने भएको जानकारी दिए ।
तर, इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले कम्पनीको सेयर नियमित प्रक्रियामा उकालो लागेको दाबी गरे । कम्पनीको वासलात बीमा कम्पनीले स्वीकृत गरेर सार्वजनिक भएको र साधारण सभाको सुनिश्चिततासँगै लगानीकर्ता उत्साहित भएको अध्यक्ष श्रेष्ठको तर्क थियो ।
के हो इन्साइडर ट्रेडिङ ?
सेयरको मूल्यमा असर पार्न सक्ने कम्पनीका भित्री सूचना वा जानकारीहरु सार्वजनिक हुनुअगावै कम्पनीका सम्बन्धित व्यक्ति वा अन्य व्यक्तिलाई दिई कारोबार गर्नुलाई इन्साइडर ट्रेडिङ भन्ने गरिन्छ । धितोपत्र जारी गर्ने संगठित संस्थालाई जानकारी नभएको कुनै खास किसिमको सूचना यसरी सार्वजनिक हुँदा धितोपत्रको मूल्यमा असर पर्छ । यस्ता कार्यमा कम्पनीका सञ्चालक, व्यवस्थापनका उच्च कर्मचारीलगायत सहभागी हुने गर्छन् ।
यो पनि हेर्नुहोस् : अजोड इन्स्युरेन्सको शेयर उकालो लागेपछि ‘इन्साइडर ट्रेडिङ’ आशंका !
प्रतिक्रिया