नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत
बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् ।
बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
बंगलादेशका सलहुध्दिन नोमन चौधरी, इजरायलका हनान गोडेर गोल्डवर्ग, म्यानमारका सैन ओ र थाइल्याण्डका भोसिता भोरासपले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
राजदूतहरू बंग्गिमा चढेर राष्ट्रपति कार्यालय पुग्ने र ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने चलन रहेको भएपनि कोभिडको कारण उनीहरू मन्त्रालयबाट सिधै शीतलनिवास पुगेका थिए ।
नेपालमा पहिले आइपुगे त्यही आधारमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
कोभिड(१९ का कारण निकै सुरक्षित ढंगले उक्त ओहोदाको प्रमाणपत्र बुझाउने कार्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले बताए ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि उनीहरूले पालै पालो राष्ट्रपति भण्डारीसँग दुईपक्षीय संक्षिप्त वार्ता समेत गरेका थिए ।
उनीहरुले आफ्नो मुलुकको राष्ट्र एवं सरकार प्रमुखको सन्देश समेत राष्ट्रपतिलाई सुनाएका थिए । उनीहरुले बिहीवारबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।
प्रतिक्रिया