Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

कुमारी बैंक ऋण प्रकरण : बैंकका थप कर्मचारीको देखियो संलग्नता, प्रतिवादीको संख्या बढ्ने

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ । 

 

अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जानकारी दिएको हो ।

 

‘अहिले पक्राउ परेकासँगै बैंकका थप कर्मचारीको पनि यो प्रकरणमा संलग्नता देखिएको छ,’ स्रोतले भन्यो, ‘नक्कली धितो राख्ने क्रममा कागजपत्र मिलाउने लगायत काम गर्ने व्यक्तिहरु पनि पहिचान भएको छ, त्यसैले प्रतिवादी संख्या बढ्नेछ ।’

 

हाल सीआईबीले ४ जनालाई पक्राउ गरेको छ भने १ जनालाई स्वास्थ्य अवस्थाका कारण निगरानीमा राखेको छ । पहिले लिखत किर्ते मुद्दा लगाएको सीआईबीले अहिले उनीहरुविरुद्ध बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ । 

 

पक्राउ पर्नेमा कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया तथा नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतम तथा बिचौलिया बनेका कुसन प्रधान छन् । प्रधानलाई निगरानीमा राखिएको छ । 

 

उनीहरुलाई पक्राउ गरेको ४१ दिन पुगिसकेको छ । बैंकिङ कसुरमा ६० दिनभित्र अनुसन्धान सकी रिपोर्ट बुझाउनुपर्नेछ । 

 

सीआईबीका प्रमुख डीआईजी धीरजप्रताप सिंहले हालसम्म बैंकका उच्च अधिकारीको भने यो प्रकरणमा संलग्नता नदेखिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिलेसम्म बैंकका उच्च अधिकारीहरुको संलग्नता देखिएको छैन,’ उनले भने, ‘अनुसन्धान जारी छ ।’

 

पक्राउ परेकाहरुले गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा लिएका थिए । उनीहरुले अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट ऋण लिएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै