Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

जब बाँकेका खर्कबहादुरलाई अमेरिकी बनेर नेपालीले नै ठग्न खोजे..

बाँके खजुरा–३ का ५० वर्षीय खर्कबहादुर पुनले फेसबुकमा स्क्रोल गर्दै जाँदा केही दिनअघि अमेरिकी पानीजहाज कम्पनीमा कामदार माग गरिएको सूचना देखे । जागिरका लागि विशेष योग्यता आवश्यक नहुने र आकर्षक तलब पनि पाइने देखेपछि उनको मनमा अमेरिका जाने सपना पलाउन थाल्यो ।

 

मलेसिया, बहराइनजस्ता देशमा वैदेशिक रोजगारीमा गएर फर्केका उनलाई मौका मिले फेरि विदेश जाने मन थियो । अमेरिका जान पाए त झनै राम्रो हुने उनलाई लाग्यो । 

 

कामदार माग्ने कम्पनी थियो, एमएससी क्रुज सिप कम्पनी युएसए । हस्की जब्स इन क्यानडा नामको फेसबुक पेजमा उक्त सूचना आएको थियो । कामदारले मासिक ८ हजार डलर तलब पाउने र बसाइको खर्च कम्पनीले बेहोर्ने सूचनामा भनिएको थियो ।

 

सूचनाअनुसार १८ देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने र शिक्षित अशिक्षित दुवैले मौका पाउने, कम्पनीले नै भिसा प्रोसेस, वर्क परमिट र जहाजको टिकटको काम गर्ने जनाइएको थियो । छनोट भइसकेपछि ३ वर्षसम्म काम गर्न पाइने र यसका लागि सबै देशका नागरिकले आवेदन दिन सक्ने भनिएको थियो । 

 

सूचनामा ह्वाटसअपबाट सम्पर्कका लागि प्लस १७८१६८०५६१० नम्बर दिइएको थियो । 

 

‘सूचना देखेपछि साँच्चीकै अमेरिकाको कम्पनीले नै कामदार मागेको जस्तो लाग्यो । उमेर र देश लगायत कुरामा आफूलाई मिल्ने भएपछि किन ट्राइ नगर्ने जस्तो लाग्यो,’ उनले भने ।  

 

 

अमेरिका जाने सपना बुन्न थालेका खर्कबहादुरले सूचना भनेअनुसार ह्वाटसअप नम्बरमा सम्पर्क गरे । त्यहाँ उनको भेट पायर पाउल्हो स्कालासँग भयो । कुराकानीमा पाउल्होले आफू उक्त कम्पनीमा क्याप्टेन रहेको जनाए । 

 

खर्कबहादुरले अंग्रेजीबाट नै उनीसँग काम र भिसाबारे कुरा गर्न थाले । पाउल्होले पनि अमेरिका आउन अन्तर्राष्ट्रिय कागजातहरु बनाउनुपर्ने र त्यसका लागि पैसा लाग्ने जनाए । बाँकी सबै कम्पनीले मिलाउने उनले आश्वासन दिए । यी सबैका लागि २० हजार रुपैयाँ लाग्ने खर्कबहादुरलाई बताए । 

 

२० हजारमै सहजै काम हुने भएपछि खर्कबहादुरले पनि त्यति रकम तिर्न नाइनास्ति गरेनन् । उनले पाउल्होलाई पैसा बुझाउनुपर्ने व्यक्ति वा सम्पर्क स्थान मागे । 

 

पाउल्होले आईएमई पेको काठमाडौं शाखामा निर्मला महतको नाममा (९८०३४५४२६५) मा पैसा पठाउन भने । पेमेन्ट गरेपछि उनले त्यसको रिसिभ पठाउनुपर्ने बताए । त्यसपछि मात्र रजिस्टर हुने र भिसा प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो ।

 

त्यसपछि खर्कबहादुरले निर्मला महत नामको व्यक्तिलाई ह्वाट्सएपबाटै सम्पर्क गरे । ‘नेपाली नै रहेछ, कुरा गर्नुपर्यो भनेर ह्वाट्सएपबाट नै फोन हाने, उठेन । त्यसपछि म्यासेज गरेँ, रिप्लाई आयो,’ उनले भने । 

 

निर्मला नामको आइडीबाट त्रियुगा ट्राभल कन्सल्टेशन सर्भिस सञ्चालन गरिरहेको र कोरोनाले अहिले अफिस बन्द रहेको जानकारी भयो । साथै, डकुमेन्ट र पेमेन्टको सेवा दिँदै आएको जानकारी पनि दिइयो । 

 

खर्कबहादुरले आफूलाई एमएससीका क्याप्टेनले रकम दिन भनेको जानकारी दिएपछि उताबाट उनको पूरा विवरण मागियो । तर, विस्तारै उनीहरुको कुराकानीबाट खर्कबहादुरलाई शंका लाग्न थाल्यो ।

 

‘ह्वाटसएपबाट ठगीको कुरा पनि सुनेको थिएँ, त्यसैले झट्ट विश्वास गरिहाल्न मन लागेन,’ उनले भने । पाउल्होसँग यसअघि अंग्रेजीमा कुरा गरेका उनले नेपालीबाट फेरि कुराकानी गर्न थाले । 

 

म्यासेज हेर्दा, खर्कबहादुरले नेपालीमा लेखेका छन् भने पाउल्होले अंग्रेजीमा जवाफ फर्काएका छन् र अन्त्यतिर नेपालीमै लेखेर पनि पठाएका छन् । यसले पाउल्हो नामको व्यक्ति नेपाली नै भएको भेउ उनले पाए । 

 

 

‘अमेरिकी भए त कसरी नेपालीमा लेख्न सक्थ्यो, त्यसपछि उनसले पठाएको भ्वाइस म्यासेजबाट पनि विदेशीले नेपाली बोल्ने टोन बनाएर बोलेको जस्तो लाग्यो,’ उनले भने । त्यसपछि भेटेरै मात्र पैसा दिने खर्कबहादुरले बताए । आईएमई पेबाटै पैसा पठाउन जोड दिएपछि आफूले सम्पर्क गर्न छाडेको उनले बताए ।

 

त्यसपछि पर्दाफासको सम्पर्कमा आएका खर्कबहादुरले आफू ठगिन लागेको थाहा पाएपछि पैसा नदिएको बताए। ‘पाउल्हो नामका व्यक्ति नेपाली नै रहेको महसुस भएपछि पैसा दिएको छैन,’ उनले भने, ‘ह्वाटसअपबाट प्रलोभनमा पारेर ठग्न खोजेको लागेको छ । अरु पनि यसरी ठगिन सक्छन् भने यो कुरा बाहिर ल्याएको हुँ ।’

 

उनले फेसबुकमा यसरी सूचना जारी गरेर ठगी धन्दा चलिरहेकाले प्रहरीलगायत निकायले कारबाही गर्नुपर्ने माग गरे । 

 

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार हाल दैनिक औसतमा ४ वटासम्म यस्ता किसिमका ठगी भएका लिखित÷मौखिक उजुरी आउने गरेका छन् । गत साउनमा २७ वटा र गत आर्थिक वर्षमा ४६० वटा यस्ता उजुरीहरु आएको र त्यसमा केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए । 

 

कोइरालाका अनुसार नेपालमा हुने यस्ता ठगीका नाइके विशेषगरी भारतमा बसेर काम गर्छन् । र, यसका लागि नेपालीहरुलाई प्रयोग गर्छन् । ‘नेपालीहरु कोही जानेर र कोही नजानीकनै यसमा लागेको पाइएको छ,’ उनले भने, ‘भारतमा बस्ने भएकाले मुख्य योजनाकारहरु पक्राउ पर्न सकेका छैनन् ।’ 

 

यस्ता घटना न्यूनीकरणका लागि सबैभन्दा पहिले सर्वसाधारण नै सचेत हुनुपर्ने उनी बताउँछन् । पर्दाफासले निर्मला महतको नाममा रहेको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै