सभापतिका लागि साझा उम्मेदवार बन्न निधिले मागे पौडेलको साथ
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा उपसभापति निधिले आगामी महाधिवेशनमा आफूलाई सभापति पदमा साथ दिन पौडेलसँग आग्रह गरेका छन् ।
‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु । अन्य नेताको समर्थन लिने प्रयास गरिरहेको छु । तपाईले पनि मलाई सहयोग गर्नुप¥यो,’ निधिले भनेका थिए ।
तर, जवाफमा नेता पौडेलले आफू पनि सभापति पदका लागि तयारी गरिरहेको र आफूलाई साथ दिन आग्रह गरेका थिए । ‘मेरा लागि यो अन्तिम अवसर हो । मलाई सहयोग गर्नुस्,’ जवाफमा पौडेलले भनेका थिए ।
यससँगै उनीहरुबीच क्रियाशील सदस्य समायोजनको सन्दर्भमा पनि छलफल भएको पौडेलको सचिवालयले जानकारी दिएको छ ।
कांग्रेसको भदौमा हुने भएको १४ औं महाधिवेशनमा यसपटक सभापति पदमा निधि उठ्ने भएका छन् । यसका लागि उनले विभिन्न नेता तथा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।
पार्टीका प्रभावशाली नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा महामन्त्री शशांक कोइरालासँग निधिले छलफलसँगै सहकार्य गरेर अघि बढ्ने सहमति पनि गरिसकेका छन् ।
प्रतिक्रिया