भारतको साढे ३ करोड लागतमा दार्चुलामा दुई विद्यालय भवन निर्माण
भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा दुई विद्यालयका भवन निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ती विद्यालयको भवन निर्माण गरिएको हो ।
भारतले १ करोड २७ लाख रुपैयाँ लागतमा खलंगा, तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । यस्तै, महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको भवन बनाउन भारतले २ करोड ३३ लाख रुपैयाँ सहयोग गरेको छ ।
दुवै विद्यालयका भवनको आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्यसी खम्पा, जिल्ला समन्वय समिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गरे ।
सन् १९६० मा स्थापना भएको मोती महिला संघ विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु तिंकरी र भुटिया समुदायका छन् । विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् ।
सन् १९६६ मा स्थापना भएको मालिकार्जुन विद्यालयको दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । जसमा हालसम्म ४५९ वटा परियोजना निर्माण सम्पन्न भइसकेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया