ओली सरकारविरुद्ध जुट्दै विपक्षी दल, राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अहिले आन्तरिक किचलो उत्कर्षमा छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादको कारण पार्टीभित्र चरम गुट मौलाएको छ । नेताहरु विभिन्न गुटमा विभाजित भएका छन् । यसबीचमा अन्य प्रतिपक्षी दलहरु भने एकजुट भएर सरकारविरुद्ध सशक्त आवाज उठाउने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेताहरुबीच सरकारका बेथितिविरुद्ध एकजुट भई अघि बढ्ने समझदारी भएको हो । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको भेलामा दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोरोनाको विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको छ ।
दुवै दलका शीर्ष नेताहरुबीच सरकारका गलत क्रियाकलाप विरुद्ध संसद्मा एक ठाउँमा उभिने समझदारी पनि भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफलमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।
राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताए । पछिल्लो समय देशभर हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको उनको भनाइ छ ।
उनका अनुसार राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको हो । यस्तै अहिलेको बहुमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए । यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।
प्रतिक्रिया