Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

भाजपा विदेश प्रमुखको नेपाल यात्रा, राजनीतिमा कहिले देखिएला ‘प्रभाव जात्रा’

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै ५ दिने भ्रमणका लागि नेपाल आए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने चौथाइवालेले यहाँ शीर्षस्थ नेताहरुसँग भेटघाट गर्न भ्याए । 

 

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरे । 

 

यस्तै, प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरुसँग पनि उनले भलाकुसारी गरे । चौथाइवाले नेपालमा नयाँ गठबन्धनको सरकार गठन भएसँगै कांग्रेसका नेता प्रकाशशरण महतको निमन्त्रणमा नेपाल आएको भनिएको छ । तर, उनले यहाँका सबै प्रमुख नेताहरुसँग भेट्न कुनै असहजता भोग्नुपरेन । 

 

तर, चौथाइवालेको यो भेटले फेरि एकपटक नेपालको कूटनीतिक मर्यादाको धज्जी उडाएको छ । किनभने राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मका व्यक्तिले उनलाई भेट्न कूटनीतिक मर्यादा पालना गरेको पाइएन । 

 

नेपालमा जोसुकै विदेशी आए पनि प्रमुख नेताहरुले लर्को लगाएर भेट्ने चलन छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत भेटघाट गर्ने परम्परा छैन भन्दा पनि हुन्छ । जब कि अन्य देशको चलन हेर्ने हो भने प्रमुख नेताहरुले आफ्नो देशको कूटनीतिक आचारसंहिताका अनुसार भेटघाट गर्ने चलन छ । 

 

त्यसै कारण नेपाली नेता तथा मन्त्रीहरु अन्य देशमा जाँदा त्यहाँका शीर्षस्थ नेताहरुलाई सहजै भेट्न पाउँदैनन् । तर, नेपालमा भने एउटा राजदूत तथा छिमेकी देशका दूतको पहुँच नेताहरुको चोटाकोठामा हुने गरेको छ । उनीहरुले निर्बाध प्रवेश पाई भेट्नुलाई यहाँका नेताले भने गौरव ठान्छन् ।

 

कूटनीतिविद्हरुका अनुसार नेपाल र विदेशीको भेटघाट असमान छ । यस्तो भेटमा परराष्ट्रले जारी गरेको आचारसंहिता पनि पालना हुन सकेको छैन । न सत्ता न प्रतिपक्ष कसैले पनि कूटनीतिक मर्यादा कायम गरेका छैनन् । यसले नेपालको कूटनीति अझै पनि परिपक्व हुन नसकेको स्पष्ट पार्छ । 

 

चौथाइवालेको भ्रमणको उद्देश्य

 

चौथाइवाले कांग्रेस नेता महतको निमन्त्रणमा आए पनि उनले सबै शीर्षस्थ नेताहरुलाई भेटेका छन् । त्यस क्रममा उनले मोदीको सन्देश पनि सबै नेतालाई सुनाएका छन् । उनले नेपालको बदलिँदो परिस्थितिमा भारतको समर्थन रहेको सुनाए पनि अन्य आन्तरिक विषयहरु भने बाहिरिएका छैनन् । 

 

तर, कूटनीतिविद्का अनुसार तत्कालीन नेकपा खारेज भएसँगै र नेपालमा कम्युनिष्ट पार्टीको विभाजनले अहिले भारतको केही हदसम्म सहज भएको छ । किनभने कम्युनिष्ट पार्टीहरु एकजुट भएर तत्कालीन नेकपाले सरकार चलाउन थालेपछि कतै नेपाल चीनतर्फ त ढल्किने होइन भन्ने आशंका भारतलाई परेको थियो । 

 

बीचबीचमा केपी शर्मा ओलीले चीनसँग पारबहनलगायत सम्झौता गर्दा र नेपालले चुच्चे नक्सा जारी गर्दा भारत नेपालसँग चिढिएको थियो । त्यसबेला भारतीय मिडियाहरुले पनि नेपाल चीनतर्फ लागेको भन्दै समाचार सम्प्रेषण गरेका थिए । 

 

नेपाल र भारतबीचको त्यो उतारचढाव सम्बन्धमा पछिल्लो समय स्थिरता आएको छ । कम्युनिष्ट पार्टीको विभाजन र नयाँ सरकार गठनसँगै भारत पनि केही आश्वस्त भएको छ । जसको उदाहरण चौथाइवालेको भ्रमणलाई लिन सकिन्छ । 

 

यसकारण भेटेनन् बाबुराम र उपेन्द्रलाई 

 

चौथाइवालेले सबै प्रमुख नेतालाई भेटे पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईलाई भने भेट गरेनन् । यसले उक्त पार्टी तथा तिनका नेताप्रति भारत खुसी छैन भन्ने सन्देश दिएको छ । 

 

भारत जहिले पनि मधेशी दलहरू एक रहोस्, मधेशी दल कमजोर नबनोस, व्यक्तिगत स्वार्थले नफुटोस, मधेशी जनताको इच्छा आकांक्षा अनुसार एउटा ठूलो र निर्णायक शक्ति बनोस् भन्ने थियो । यही कारणले जब ओलीले तत्कालीन समाजवादी पार्टी विभाजन गर्न अध्यादेश ल्याए अनि उपेन्द्र यादवले लैनचौर देखि दिल्ली सम्म हारगुहार गरे । 

 

भारतले मधेशी दल फुट्नु कुनै हालतमा राम्रो होइन भन्दै त्यसलाई असफल पार्न रातारात दिल्ली र लैनचौरले मध्यस्थता गर्यो जसको परिणाम यो भयो कि उपेन्द्र यादवको पार्टी फूटबाट मात्र जोगेन बल्कि महन्थ ठाकुरको नेतृत्वमा रहेको राजपा संग एकीकरण पनि गराइयो । 

 

राजपा अध्यक्ष मण्डलका ६ मध्ये ४ अध्यक्षको इच्छा विपरीत यो एकीकरण गराइएको थियो । भारतले यसको एवजमा ओली सरकारसंगको राजनीतिक र कूटनीतिक सम्बन्धनै धरापमा परेको थियो । तर पार्टी फुट बाट जोगाउन जुन उपेन्द्रले हाथ खुट्टा जोडे त्यही उपेन्द्रले पछि दिल्लीको इच्छा विपरीत सरिता गिरीलाई पार्टीबाट निकाले । 

 

मधेशको माग सम्बोधन गर्न ओली तयार रहे पनि त्यसको विरोधमा लागे । महन्थ ठाकुर राजेन्द्र महतो समेतलाई पार्टीबाट निष्कासित गरे । यो कुरा दिल्लीले गम्भीर लियो र उपेन्द्र बाबुराम र उनलाई साथ दिने कुनै पनि नेतालाई नभेट्ने निष्कर्षमा पुगेको देखिन्छ ।

 

चौथाइवालेले बाबूरामलाई नभेट्ने अर्को कारण धर्मप्रतिको उनको धारणा थियो । बाबूरामले आफ्नो ट्विटर र फेसबुकमार्फत हिन्दू धर्म र आस्था माथि चोट पुग्ने गरी लेख, र स्टाटस लेख्ने, भारत सरकारको आन्तरिक नीतिहरूको पनि विरोध गर्ने गरेको भाजपाको बुझाइ छ । 

 

पछिल्लो समय कतिपय भारतीय मिडियामा लेख समेत लेखेर हिन्दू धर्ममाथि आघात गर्ने, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध प्रवाह गरेको फोटो समेतमा आलोचना र विरोध गरे पछि बाबुरामसँग भेट गर्न चौथाइवालेले नचाहेको अहिले विश्लेषण गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै