Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

नेकपा एमालेबाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् ।

 

शाक्यले वाग्मती प्रदेश सभामा राजीनामा घोषणा गरेकी हुन् । आज वाग्मती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बसेको छ । उक्त बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
     

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गरेकी थिइन् । 

 

शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडि बढ्नका लागि राजिनामा दिनु नै राम्रो लागेकाले राजिनामा दिएको स्पष्ट पारिन् । एमाले संसदीय दल, मन्त्रीहरु लगायत सबैको भावना अनुसार आफुले पदबाट मार्ग प्रशस्त गरेको उनको भनाइ थियो । 

 

‘यही तरिकाबाट हामीले एक अर्कामा सहयोग गरौँ भन्ने भावनालाई नै आत्मासात राखेर त्यो भावनालाई नै व्यक्त गर्नेगरी र आगामी दिनमा सम्झिने, आगामी दिनमा मिलेरै अघि बढ्नको लागि यही तरिका राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यही बाटो ठिक हुन्छ भन्ने हामीलाई लाग्यो । नेकपा(एमाले)लाई लाग्यो । हाम्रो दलको बैठक भर्खरै बस्यौँ । सबैसँग हामी छलफल ग¥यौँ । सबैको बिचार पनि यही भावना व्यक्त भयो । मन्त्रीज्यूहरुसँग बस्यौँ । हामी सबैको भावना यही व्यक्त भयो । यसरी जाँदाखेरी सबभन्दा राम्रो हुन्छ भन्ने कुराहरु भएको हुनाले मैले यसरी मार्ग प्रशस्त गरेको छु । र सबै मान्यन्यूहरुलाई अहिलेसम्मको सम्पूर्ण यहाँहरुले सहयोग गर्नुभयो, जुन ढंगले यहाँहरुले जस्तोसुकै भावना जसरी व्यक्त गर्नुभएको भएपनि त्यो भावनै व्यक्त गर्नुभाको हो । त्यो विचारनै व्यक्त गर्नुभाको हो । यसलाई सम्मान गर्दै सभामुख महोदय म आफ्नो कुरा यही टुंग्याउन चाहान्छु,’ उनले भनिन् ।

 

उनले आगामी दिनमा एमाले प्रतिपक्षको रुपमा रहे पनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताइन् । सत्तापक्ष र विपक्ष विचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै शाक्यले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै