परराष्ट्रका सहसचिव वाग्लेको नेतृत्वमा तीन जर्नेलसहितको टोली भारत जाँदै
भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो ।
सरकारी अधिकारीहरुका अनुसार रक्षा मन्त्रालयबाट दुई अधिकारी, सेनाका तीन सहायक रथीसहित ११ जना बैठकमा सहभागी हुनेछन् । यस्तै दिल्लीस्थिती नेपाली दूतावासबाट सैनिक सहचारी र परराष्ट्र अधिकारी समेत सहभागी भएर करिब १६ जनाको टोली बैठकमा सहभागी हुनेछ ।
यस्तै भारतको परराष्ट्र मामिला मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको टोली बैठकमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।
नेपाल–भारत द्विपक्षीय परामर्श समूहले सुरक्षा बिषयमा बैठकमा छलफल गर्नेछ । दुईदिनसम्म चल्ने उक्त बैठकमा सीमा सुरक्षा, सीमा अपराध, दुुईदेशबीच सुरक्षा सहकार्य र तालिम तथा क्षमता अभिवृद्धी तथा आपसी सहयोगका बिषयमा केन्द्रित रहने अधिकारीहरुले बताएका छन् । बैठक ११ र १२ कात्तिकमा हुनेछ ।
नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल–भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको थियो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भईसकेको छ ।
यसै परामर्श समूहको १४ औं बैठक २०७६ चैत्र महिनामा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने योजना भएकोमा कोभिड–१९ महामारीको कारण उक्त बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया