लेवनानमा नेपाली शान्ति सैनिकले बाटो रंगाए, जैतुन लगाए अनि बालबालिकालाई सहयोग पुर्याए
युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्र्तगत लेवनानमा तैनाथ रहेको नेपाली शान्ति सैनिकको टोलीले नागरिक हितका कार्य गरेर ७६ औं संयुक्त राष्ट्र संघ दिवश बनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा विभिन्न जनहित कार्यहरु संचालन गरेको हो ।
निर्देशनालयका अनुसार मिशनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरुमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षा संचालन गर्नुका साथै दाँतको सफाई गर्ने प्रयोगात्मक विधिद्वारा प्रदर्शनी गरेको थियो । सोही क्रममा उक्त विद्यालयमा अध्ययनरत करीब २ सयजना विद्यार्थीहरुलाई नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट स्टेशनरी सामानहरु र डेण्टल हाईजिन किट समेत वितरण गरिएको थियो ।
यस्तै ‘हरियाली लेवनान’ अभियान अन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवाहरु वृक्षारोपण गरी मिशनको निलोदेखि हरियो अभियानलाई मूर्तरुप दिनुका साथै साक्रा र माज्दल स्लिम नगरपालिकाहरुमा वृहत वृक्षारोपण गरी साक्रा नगरपालिका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर लामो सडकखण्डमा रङ्गरोगन गरी छुट्टाछुट्टै करिडोर समेत स्थापना गरेको हो ।
नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलवा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने सेनाले जनाएको छ ।
नेपाली सेनाले लेवनानमा गरेको कार्यहरु तस्बीरमा हेरौं–
प्रतिक्रिया