Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

बझाङको बुंगल नगरपालिकामा भ्रष्टाचार : शिक्षकदेखि विद्यार्थीलाई आएको बजेट कर्मचारीको खल्तीमा 

सुदूरपश्चिम प्रदेशको बझाङस्थित एक स्थानीय तहका कर्मचारीले विद्यालयलाई निकासा गरिने रकममा भ्रष्टाचार गरेको खुलेको छ । जिल्लाको बुङ्गल नगरपालिकाका कर्मचारीले विभिन्न शीर्षकमा विद्यालयका लागि आएको लाखौं रकम निकासा नै नगरी भ्रष्टाचार गरेका हुन् । 

 

सरकारले पालिकालाई पठाएको विद्यालयका कर्मचारी, कोभिड–१९ नियन्त्रण तथा विद्यार्थीको खाजा शीर्षकको रकममा पालिकाका कर्मचारीले हिनामिना गरेको स्रोतले जनाएको छ । 

 

रकम हिनामिना गर्नेमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर रोकाया, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवराज जोशी र शिक्षा अधिकृत धनकृष्ण रेग्मी लगायत छन् । 

 

हाल सरकारले शिक्षाको जिम्मेवारी सम्बन्धित पालिकालाई दिएको छ । त्यसैअनुसार सरकारले पालिकाको खातामा विद्यालयको रकम हालिदिने गरेको छ । तर, त्यो रकमको गोश्वारा भौचर उठाएर पनि विद्यालयको खातामा हालिएको छैन भने फ्रिज भएर फिर्ता गएको पनि देखिन्न । 

 

नगरपालिकाको खातामा भने विद्यालयको रकम घटेको देखिन्छ । त्यसबाट पनि रकम हिनामिना भएको पुष्टि हुने स्रोतको भनाइ छ । 

 

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ असार मसान्तसम्म सामुदायिक विद्यालयका कर्मचारीका लागि निकासा गरिनुपर्ने करिब १५–२० लाख रकम निकासा नभएको स्रोतले जनाएको छ । बाल शिशु, परिचर, विद्यालय लेखापाललगायतको रकम निकासा नभएको हो ।

 

आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको विद्यार्थीको दिवा खाजा शीर्षकको दोस्रो किस्ता पनि नहालेको भेटिएको छ । विश्व खाद्य कार्यक्रमअन्तर्गत बझाङमा १४ मावि विद्यालयहरुलाई दिवा खाजा शीर्षकमा बजेट विनियोजन हुँदै आएको छ । 

 

यो शीर्षकको पहिलो किस्ताको रकम हाले पनि दोस्रो किस्ताको रकम हालसम्म फेला नपरेको सोही नगरपालिकाको एक विद्यालयका शिक्षकले बताए । उक्त नगरपालिकामा दिवा खाजा शीर्षकको १२ लाख ७८ हजार रुपैयाँ अझै नपाएको विद्यालयहरुको गुनासो छ ।  

 

 

आर्थिक वर्ष २०७७/७८ असार मसान्त विद्यालयहरुमा कोभिड–१९ शैक्षिक गुणस्तर सहायता रकम माविलाई १ लाख, निमाविलाई ७५ हजार र आधारभूतलाई ४५ देखि २६ हजारसम्म सरकारले छुट्याइएको थियो । त्यसबापत जिल्लाका विद्यालयहरुका लागि लाखौं रकम आए पनि त्यो पनि हालसम्म पाउन नसकेको स्रोतको भनाइ छ । ‘८४ वटै विद्यालयमध्ये एउटा विद्यालयमा पठाएको देखिन्न,’ स्रोतले भन्यो ।

 

त्यो रकमको गोश्वार भौचर उठाएको भने देखिन्छ । तर, विद्यालयको खातामा हालिएको छैन भने फ्रिज भएर फिर्ता भएको पनि देखिन्न ।

 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकमा नगरपालिकाले शिक्षकहरुको तलबमा पनि कटौती गरेर भ्रष्टाचार गरेको पाइएको छ । सरकारले गणित, विज्ञान र अंग्रेजी कमजोर भएका सामुदायिक विद्यालयमा शिक्षक प्रोत्साहन भत्ता दिँदै आएको छ । यो रकम पहिलो ३५ हजार रहेकोमा अहिले ३७ हजार रुपैयाँ पुर्याइएको छ । 

 

तर नगरपालिकाले शिक्षकहरुलाई भने ७ हजार कटौती गरेर केवल ३० हजार रुपैयाँ मात्र निकासा गरेको छ ।

 

यस्तै, आर्थिक वर्ष २०७७/७८ को असारमसान्तसम्म हालिसक्नुपर्ने निजी शिक्षक प्रोत्साहन भत्ता पनि तोकिएअनुसार नपाइएको विद्यालयहरुको गुनासो छ । शिक्षा समितिको निर्णयअनुसार शिक्षाको डल्लो बजेटबाट ८४ लाखदेखि करिब १ करोड हाराहारीमा उक्त रकम विद्यालयहरुमा दिइने जनाइएको थियो । 

 

‘नगरपालिकाको आन्तरिक स्रोत वा माथिबाट आएको फन्डबाट आएको उक्त पूरै रकम विद्यालयलाई दिइएन । ३ लाख भनेको ठाउँमा १ लाख हालिदिने जस्ता काम भएको छ,’ स्रोतले भन्यो । यसबारे पर्दाफासले निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकाया र शिक्षा शाखा प्रमुख जोशीलगायतलाई पटकपटक सम्पर्क गर्न खोजे पनि सम्र्प हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै