क्वाड बैठक : संगठन सशक्त तर सुषुप्त रणनीति
आर्थिकदेखि अन्य क्षेत्रमा विश्वकै एक नम्बर बन्ने प्रयासमा रहेको चीनको महत्वाकांक्षालाई रोक्न बनाइएको गठबन्धन ‘क्वाड’ मा सहभागी मुलुकका प्रमुख नेताहरुले संगठनलाई अझै सशक्त बनाउने सहमति गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा अमेरिकामा पुगेका भारत, जापान, अस्ट्रेलियाका प्रमुख नेताहरु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ह्वाइटहाउसमा भएको भेटवार्तामा चीनको बढ्दो प्रभावलाई रोक्न सशक्त ढंगले लाग्ने समझदारी गरेका हुन् ।
क्वाडमा सहभागी मुलुकका प्रमुख नेताबीच भौतिक रुपमा पहिलोपटक यस किसिमको वार्ता भएको हो । शुक्रबार क्वाडको ब्यानरमुनि अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशिहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच बैठक भयो ।
तर, बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा भने अपेक्षा गरिएविपरीत चीनको नाम नै उल्लेख गरिएको छैन् । प्रत्यक्ष रूपमा चीनको नाम नलिए पनि इन्डो प्यासिफिकका विषय नै चार नेताको भेटवार्ताको प्रमुख विषय थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउने’ भन्ने विषय राम्ररी जानकारी भएको बताएका छन् । बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले चीनमाथि जबर्जस्ती आर्थिक व्यवहार र सैन्य गतिविधि बढाएको आरोप लगाएका थिए ।
जापानका प्रधानमन्त्री सुगाले दक्षिण चीन सागरमा बढ्दै गएको चिनियाँ गतिविधिको उद्देश्यप्रति प्रश्न उठाएका थिए । दक्षिण चीन सागरमा पछिल्ला वर्ष चीनले आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ । लामो समयदेखि जापानको नियन्त्रणमा रहेको टापुलाई बेइजिङले आफ्नो दाबी गरेसँगै दक्षिण चीन सागरमा जापानको चासो बढेको हो ।
भेटवार्तासँगै चार देशका नेताहरूले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ‘पूर्वी र दक्षिण चीन सागर सहित समुद्री नियममा आधारित व्यवस्थामा आउने चुनौतीको सामना गर्ने,’ उल्लेख गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०३५ सम्म चीनलाई आर्थिक, प्राविधिक र सैन्य शक्तिका दृष्टिले विश्वकै एक नम्बर बन्ने अवसर रहेको बताउँदै आएका छन् । यसका लागि एसिया र विश्वभरका देशहरुलाई चिनियाँ प्रभुत्व अपरिहार्य रहेको बुझाउनुपर्ने चीनको धारणा छ । अनि मात्र एक गोली पनि नचलाई चीन अन्तर्राष्ट्रिय व्यवस्थाको नियमलाई फेरि लेख्न र विश्वको नेतृतवमा बलियो ढंगले टिकिरहन सहयोग गर्ने उनको महत्वाकांक्षा छ ।
तर, यसमा क्वाड चीनको टाउको दुखाइ बनिरहेको छ । क्वाड व्यापक, सन्तुलित र संगठित हुँदै गएमा विश्वको नेतृत्व लिने आफ्नो महत्वाकांक्षामा तगारो बन्ने चीनको बुझाइ छ । त्यसैले के अब राष्ट्रपति सी क्वाडको प्रभाव कम गर्न सक्लान् त भन्ने प्रश्नचिह्न पनि खडा भएको छ ।
जापानमा सुनामीको विपद्का बेला आबेले २००४ मा क्वाड स्थापना गरेका थिए, जसमा अस्ट्रेलिया, भारत र अमेरिका सहभागी भए । आबेले यो संगठनबाट साझा क्षेत्रीय सुरक्षा चुनौतीलाई सामना गर्न सकिने सम्भावना देखे । जसलाई अन्य देशले पनि सकारात्मक प्रतिक्रिया दिए पनि सक्रिय हुन सकेको थिएन ।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले संगठनलाई सक्रिय बनाउँदा चीनलाई अलग बनाउने चिन्ता जाहेर गरे । जब आतंकवाद विरुद्धको युद्धमा अमेरिकलाई चीनको आवश्यकता पर्छ, त्यतिखेर समस्या हुने उनको बुझाइ थियो ।
विकिलिक्सले जारी गरेको गोप्य सूचनामा पनि प्रशासनिक, निजी र क्षेत्रीय सरकारहरुले पनि क्वाड सक्रिय नहुने जनाएका थिए । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पनि क्वाडको सुरक्षा सहयोगबारे बारम्बार अस्वीकार गर्दै चीनसँगको सम्बन्ध अनिवार्य आवश्यकता भएको बताएका थिए ।
अस्ट्रेलियाको पनि मत त्यस्तै थियो । २००७ मा क्वाडका संस्थापक आबेले पनि यसबाट राजीनामा दिए । उनका उत्तराधिकारी यासुओ फुकुदाले पनि औपचारिक रुपमा नै क्वाडको पाना बन्द गरे ।
जब एक दशकपछि आबेलाई सत्ता प्राप्त भयो, त्यस बेला विश्वको रणनीतिक अवस्थामा पनि नाटकीय रुपमा परिवर्तन आइसकेको थियो । वर्षेनि अमेरिका र चीनबीच तनाव बढ्दै थियो । दक्षिण चीन र पूर्वी चीन समुद्रमा चीनको व्यवहारले अन्य मुलुक चिढिएका थिए । चीन र भारतका सेनाबीच पनि विवादित सीमा क्षेत्रमा पटकपटक झडप हुन थालेको थियो ।
त्यसपछि चार राष्ट्रहरु चीनविरुद्ध एकजुट हुने र क्वाडलाई ब्युँताउने निर्णयमा पुगे । २०१७ मा ती मुलुकका प्रतिनिधिको मनिलामा भएको बैठकबारे चीन उतिसारो चिन्तित थिएन । किनकि उनीहरुले साझा रुपमा विज्ञप्ति जारी गर्न पनि सकेका थिएनन् । सेप्टेम्बर २०१९ मा न्युयोर्कमा बसेको क्वाडको विदेशमन्त्री स्तरीय बैठकले भने एउटा मूलमन्त्र तयार गर्यो । त्यो थियो– स्वतन्त्र र खुला इन्डो प्यासिफिक । यतिबेलासम्म पनि चीनले क्वाडप्रति उदासीनता नै देखाइरहेको थियो ।
फेरि २०२० मा चिनियाँ र भारतीय सेनाबीच आफ्नो विवादित क्षेत्रमा भीडन्त भयो । जसमा २० भारतीय सैनिक मारिए । भारत जो क्वाडका लागि अनिच्छुक सदस्य थियो, यो घटनापछि उत्साहित भएर लागिपर्यो ।
जब अक्टोबर २०२० मा टोक्योमा विदेशमन्त्री स्तरीय बैठक भयो, त्यसपछि चीनले क्वाडलाई ध्यान दिन थाल्यो । किनभने त्यतिबेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले स्पष्ट रुपमा अमेरिकाको लक्ष्य क्वाडलाई संस्थागत गर्नु रहेको उद्घोष गरे । त्यति मात्र नभई सुरक्षा संयन्त्र तयार गर्नु, उचित समयमा समूह विस्तार गर्नु उद्देश्य रहेको उनको भनाइ थियो, जसबाट चीनको चुनौती सामना गर्न सकियोस् ।
त्यसअघि नै पोम्पेओले क्वाड प्लसको नाममा न्युजिल्यान्ड, दक्षिण कोरिया र भियतनामसँग व्यापार, उद्योग र आपूर्तिका लागि छलफल गरेका थिए ।
टोक्यो बैठकपछि भारतले अमेरिका र जापानसँग गर्ने वार्षिक मालाबार नौसैनिक अभ्यासमा सहभागी हुन अस्ट्रेलियालाई पनि आमन्त्रित गर्यो । यो किन पनि महत्वपूर्ण थियो भने, यसअघि भारतले चीनको डरले अस्ट्रेलियालाई सहभागी हुन अनुमति दिएको थिएन । तर, जब चीनसँग सीमा क्षेत्रमा भीडन्त भयो, तब भारतको यो द्विविधा पनि हट्यो । साथै चीनले आफ्नो भूराजनीतिक वी क्युई बोर्ड पनि प्रभावहीन हुँदै गएको महसुस गर्न थाल्यो ।
त्यसपछि आफूमाथिको निर्भरताका कारण क्वाडको गठबन्धन टुट्ने चीनको अपेक्षा थियो । तर, क्वाडको गतिविधि बढ्दै गएपछि चीनले इन्डो–प्यासिफिक नाटो संरचनाको विरोध गर्न थालेको छ । चिनियाँ उखान छ– ‘सय जनालाई चेतावनी दिनु छ भने एक जनालाई मार ।’ यो विषयमा पनि चीनले अस्ट्रेलियामाथि दबाब बढाएको छ, जसका कारण भारत र जापानलाई चेतावनी दिन सकियोस् ।
चीनले पहिला अस्ट्रेलियासँग सम्बन्ध सुधार्न खोजेको थियो । तर, सफल हुन नसकेपछि पहिला त्यहाँको कोइला आयातमा प्रतिबन्ध लगाएको छ । फेरि मासु, कपास, ऊन, जौ, गहुँ, काठ, तामा, चिनी र मदिरा लगायत वस्तुमा पनि प्रतिबन्ध लगाइसकेको छ । त्यससँगै चीनले भारत र जापानसँग पनि सम्बन्ध सुधार्न प्रयत्न गरिरहेको छ, जसबाट इन्डो–प्यासिफिकमा क्वाडबाट तैनाथ सैनिक फिर्ता होऊन् । तर अमेरिकलगायत क्वाडका मुलुकमा सत्ता परिवर्तन हुँदा पनि चीनको रणनीति सफल हुन सकेको छैन ।
यस वर्षको मार्चमा भएको क्वाडको बैठकपछि चार राष्ट्रको सम्बन्ध अझै बलियो भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो केन्द्र इन्डो प्यासेफिकमा हुने संकेत गरेका छन् । क्वाडले विश्वभर कोभिडको खोप संयुक्त रुपमा निर्माण र वितरण गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्वाड यस क्षेत्रमा स्थिरताका लागि एउटा महत्वपूर्ण स्तम्भ बनेको बताएका छन् ।
क्वाडमा देशहरुको समझदारीले आगामी दिनमा सैन्य, प्रविधि, अर्थ लगायत क्षेत्रबाट पार्ने असरप्रति चीन चिन्तित छ । यो गठबन्धनले विश्वको अर्थव्यवस्थामा नै परिवर्तन गरिदिएमा आफ्नो अर्थतन्त्रमा असर पुग्ने चीनको धारणा छ । यसका लागि चीनले रुससँग सहयोग माग्ने देखिन्छ । रुसले पनि चीनसँगको सम्बन्ध इतिहासकै सर्वश्रेष्ठ भएको जनाएको छ ।
क्वाडको बढ्दो प्रभावसँगै चीनले आफ्नो सैन्य क्षमता वृद्धिमा पनि खर्च बढाएको छ र जस्तोसुकै खराब अवस्थामा पनि तयार रहनुपर्ने जनाएको छ । अन्ततः चिनियाँ राष्ट्रपति सीले क्वाडको विषयमा सन् २०२२ मा हुने आफ्नो पार्टीको २० औं महाधिवेशनमा कसरी प्रस्तुत गर्नेछन् । सीले क्वाडको बढ्दो प्रभावलाई संकेत गर्दै चीनको सुरक्षाको कारण देखाई आफ्नो राजनीतिक भविष्यलाई अझै बलियो बनाउने सम्भावना पनि छ ।
प्रतिक्रिया