युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपाली दूतावासको अनुरोध
युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने उल्लेख छ ।
‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरेको छ ।
यस्तै, युक्रेन सरकार र सम्बन्धित कलेज÷विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि दूतावासले आग्रह गरेको छ ।
दूतावासका अनुसार हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएका छन् । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ ।
प्रतिक्रिया