भारतीय सहयोगमा बन्ने भयो काभ्रेमा अत्याधुनिक पुलिस एकेडेमी
भारतीय अनुदानमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण (पुलिस एकेडेमी) बन्ने भएको छ । भारतले बनाएको एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले स्वीकृत गरेसँगै अब निर्माण सुरु हुने भएको हो ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको संशोधन पत्रका आधारमा भारतीय प्रस्तावअनुसार एकेडेमी बनाउने गरी बोलपत्रको मस्यौदा स्वीकृत गरेको हो । डीपीआरअनुसार एकेडेमी निर्माणको लागत पौने ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एकेडेमी निर्माणका लागि टेण्डर आह्वान गरेको छ । टेण्डरमा एकेडेमीको डिजाइन, खरिद र निर्माण (इपीसी) मोडलमा ३ वर्षभित्र सक्नुपर्ने उल्लेख छ ।
काभ्रेको पनौती नगरपालिका–६ सुनथानामा ४२ दशमलव ४ हेक्टरमा एकेडेमी बनाउन लागिएको हो । यद्यपि, एकेडेमी बनाउने बारे भारतीय प्रस्ताव २०५२ सालमा अघि बढेको थियो । तर, हाल आएर कार्यान्वयन हुन लागेको हो ।
एकेडेमी निर्माणका लागि ८ अर्ब ७९ करोड १३ लाख रुपैयाँ भारतले दिने सम्झौता भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले प्राविधिक कारणले लामो समयदेखि रोकिएको यो योजना अहिले अघि बढेको पर्दाफासलाई बताए ।
‘भारतले सरकारको अनुदानमा बन्ने यो एकेडेमीका लागि विभिन्न अवरोध र असमझदारीका कारण दुई देशबीच सहमति भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन,’ उनले भने, ‘अब सरकारले डीपीर र बोलपत्र मस्यौदा स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयले बोलपत्र आह्वान गरेको छ । अब काम अघि बढेको छ ।’
प्रतिक्रिया