चैतमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस
निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनावबारे मिति प्रस्ताव गरेको हो ।
यसअघि स्थानीय तहको निर्वाचन ३ चरणमा गरी भएको थियो । पहिलो चरणको २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिँदै छ ।
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने प्रावधान छ ।
आयोगले राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल यही फागुनदेखि सकिँदै छ ।
भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका कानूनी व्यवस्था, प्रतिनिधि सभाका रिक्त ४ सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचनका विषयमा पनि छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको मिति चाँडै तोकिने, स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा सत्ता साझेदार दलहरू एवम् अन्य राजनीतिक दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताएका थिए ।
प्रतिक्रिया