साउथ सुडानमा जातीय हिंसामा मारिए ३२ जना, अनमिसद्वारा निन्दा
संयुक्त राष्ट्र संघको अनमिस मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनालगायत टोली सशस्त्र समूहले आक्रमण गरेको बस्तीमा सुरक्षार्थ पुगेको छ ।
दक्षिण सुडानको बैदिट जोङलेइ राज्यमा सशस्त्र मुर्ले समूहले आक्रमण गर्दा नागरिकको हताहती र अस्थायी विस्थापन भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
२३ जनवरीमा भएको घटनामा बोर समुदायका ३२ जनाको ज्यान गएको छ भने भाग्ने क्रममा महिला तथा बालबालिका गरी कम्तीमा २६ जना घाइते भएको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
आक्रमणकारीले कम्तीमा पाँच घर जलाएर सर्वसाधारणको सम्पत्ति लुटेका थिए । मानिसहरु सुरक्षा खोजी नजिकका जंगलमा पसेका थिए भने केही हाल पनि बेपत्ता रहेको राष्ट्र संघले जनाएको छ ।
अनमिस मिसन अन्तर्गतको शान्ति सैनिकको टोली तत्कालै सो क्षेत्रमा पुगेर स्थानीयलाई सहयोगदेखि सुरक्षा प्रदान गर्न थालेको राष्ट्रसंघले उल्लेख गरेको छ । मिसनमा नेपाली शान्ति सेनाको टोली पनि अग्रस्थानमा रहँदै आएको छ ।
राष्ट्र संघले उक्त घटनाको कडा निन्दा गर्दै यसरी सर्वसाधारणलाई निशाना नबनाउन आग्रह गरेको छ । मिसनले अधिकारीहरुलाई समयमै अनुसन्धान गर्न र दोषीहरुलाई जवाफदेही बनाउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया