स्थानीय तहको चुनाव मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले निर्वाचन मिति तोक्न आग्रह गरे्को हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ ।
‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन् ।
सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।
प्रतिक्रिया