महाशाखाको क्विक अपरेशन, २४ घन्टा नपुग्दै सन्तोषी हत्याका आरोपी पक्राउ
गत मंगलबार महानगरीय अपराध महाशाखालाई एउटा बेवारिसे शव फेला परेको भन्दै सूचना आयो । काठमाडौंको दक्षिणकाली मन्दिर नजिकको शौचालयमा शव भेटिएको थियो ।
सूचनापछि महाशाखासँगै, महानगरीय प्रहरी परिसर काठमाडौं, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटियो ।
प्रहरी अनुसन्धानमा उक्त शव काठमाडौंको कालोपुल बस्ने सन्तोषी सुब्बाको भएको खुल्यो ।
सन्तोषीको क्रुर ढंगले हत्या गरिएको थियो । उनलाई सुरूमा घाँटीमा सलले कसिए र प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको थियो ।
सन्तोषी र आक्रमणकारीबीच हातपात भएको संकेत घटनास्थलमा भेटिएको थियो ।
सन्तोषी विभिन्न पशुपंछीको आवाज निकालेर युट्युब र टिकटकमा भाइरल थिइन् । उनी कालोपुलमा धर्मबुबा धनबहादुर तामाङसँग बस्दै आएकी थिइन् ।
उनै सन्तोषीको हत्या आरोपमा महाशाखाले २९ वर्षीय सुरेश तिमिल्सिना पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने तिमल्सिनाले ६ असारमा सन्तोषीलाई बलात्कार प्रयास गरेका थिए । सन्तोषीले प्रतिकार गर्दा सुरेशले हत्या गरेको एसएसपी खापुङले बताए ।
पक्राउ परेका तिमिल्सिना बसमा सहचालकको काम गर्थे । हत्यापछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए । प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो ।
महाशाखाले बिहीबार सार्वजनिक गरेका सुरेशलाई घटनाको २४ घन्टा नबित्दै बुधबार नै पक्राउ गरिसकेको थियो । तर, यसबारेमा थप अनुसन्धान र प्रमाण जुटाउनका लागि उनलाई सार्वजनिक गरिएकाे थिएन् ।
प्रहरीका अनुसार दक्षिणकालीमै सन्तोषी र सुरेशबीच भेट भएको थियो । सँगै खाजा खाने क्रममा करिब एक घन्टा उनीहरुबीच गफगाफ भएको थियो ।
खाजा खाने क्रममा सुरेशले रक्सी पनि खाएका थिए । त्यसपछि उनीहरु बसमा गएका थिए । त्यहाँ सुरेशले करणी गर्न खोज्दा सन्तोषीले प्रतिकार गरिन् । आवेशमा आएका सुरेशले सलले घाँटी कसेर उनको हत्या गरे ।
त्यसपछि सन्तोषीको शव पहिचान नहोस् भनेर आरोपीले अनुहार बिगार्न खोजेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया