करिब ४ दशकपछि संयोगले काठमाडौंमा जुरेको अनुपम र राजदूत फेलिसिटीको भेट
बलिउडका चर्चित अभिनेता अनुपम खेर अहिले आफ्नो नयाँ फिल्मको सुटिङका लागि नेपालमा छन् । उनी सुरज बाड्जात्यको ‘उचाइ’ नामको फिल्मको सुटिङका लागि नेपाल आएका हुन् । उनीसँग बलिउड अभिनेता बोमन इरानी, अभिनेत्री परिणिति चोपडा पनि नेपालमा छन् ।
तर, संयोग कस्तो भयो भने अनुपमले आफ्नो करिब ४ दशकअघिको एक साथीलाई नेपालमा फेला पारेका छन् । उनी हुन् नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ।
अनुपमले आफ्नो अभिनय कालको सुरुवाततिर जीवनसन्ध्या भन्ने फिल्ममा अभिनय गरेका थिए । यो चलचित्र सन् १९८४ मा बनेको थियो । त्यही चलचित्रमा अभिनय गरेकी थिइन् फेलिसिटीले । त्यतिबेला उनी १९ वर्षीया थिइन् ।
उक्त चलचित्रमा विदेशी नागरिकको रुपमा उनले अभिनय गरेकी थिइन् । त्यतिबेला यही चलचित्रले अनुपम र फेलिसिटीबीच भेटघाट गराएको थियो ।
त्यसपछि उनीहरु आआफ्नो कर्म क्षेत्रमा व्यस्त भए । एकअर्कालाई भेट्ने मौका जुरेन । इतिहासमै नै धुमिल भइसकेको यो सम्बन्धलाई फेरि एकपटक पुनर्जीवन दिएको छ नेपालले । संयोगवश अनुपम पनि सुटिङका लागि नेपाल आउनु र फेलिसिटी पनि यहाँको राजदूत हुनुले यो भेट जुरेको हो ।
अनुपमले नेपालमा आफ्नो पुरानो साथीलाई भेटेकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । ‘विश्वको सुन्दर तरिका, अनुपम जस्तो मायालु र प्रतिभाशाली व्यक्तिसँगको भेटले खुसी महसुस भएको छ,’ फेलिसिटीले पनि सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
प्रतिक्रिया