इजरायल रोजगारीमा जान अब नयाँ परीक्षा प्रणाली
सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने पनि जनाएको छ । हालसम्म इजरायलमा रोजगारीका लागि नौ हजार ६९९ युुवाले आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्राप्त आवेदनको अध्ययन विभागले गरिरहेको जनाउँदै मन्त्रालयले आवश्यक छानबिन गरी लिखित परीक्षामा सहभागी हुने परीक्षार्थीको अन्तिम सूची प्रकाशित गर्ने जनाएको छ ।
सरकारी सम्झौताअनुसार इजरायल सरकारले हाल एक हजार केयरगिभर श्रमिकको माग भएको छ ।
केही दिनयता इजरायल पठाउन मन्त्रालय वा विभागका अधिकारीहरुसँग मेरो सम्बन्ध छ भनी प्रलोभनमा पारी गैरकानूनी रुपमा रकम असुल गरिरहेको भन्ने समाचार गुनासोहरु प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले यस्तो कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरुमा संलगन नहुन तथा कुनै प्रालेभनमा नपरी पूर्ण रुपमा वैदेशिक रोजगार विभागको सूचनामा मा आधारित हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया