नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) अध्यादेश स्वीकृत
राष्ट्रिय सभाको सोमबार बसेको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको छ ।
सोमबारको बैठकले अन्य सातओटा अध्यादेश पनि पारित गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र रेल्वे अध्यादेश पनि स्वीकृत गरेको हो । यी आठ वटै अध्यादेशलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट आपूर्तिमन्त्री बडूले उक्त अध्यादेश पारितका लागि प्रस्ताव गरेका थिए ।
बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार (भोलि) अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका तर्फबाट प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले निर्धारित समयभित्रै सांसदलाई उपस्थितिका लागि निर्देशन समेत दिएका छन् । राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार साँझ ६ बजे बस्ने भएको छ ।
प्रतिक्रिया