Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

‘अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै ङिच्च दाँत देखाउने अनि हसायो भन्ने ’ : ट्वीटरमा प्रधानमन्त्री ओली

 

देशमा निषेधाज्ञा लगाएर फुर्सदमा रहेका प्रधानमन्त्री ओली ट्वीटरबाटै सरकारी एपको बचाउ गर्दै

 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आधिकारिक व्यक्तिगत ट्वीटर ह्यान्डलबाट सरकारले प्रयोगमा ल्याएको नागरिक एपको विषयमा प्रतिवादमा उत्रिएका छन् । उनले पत्रकार प्रकाश तिमिल्सिनाले बुधबार अंग्रेजीमा राखेको ट्वीटको कमेन्ट सेक्सनमा नागरिक एपको बचाउ गर्दै कमेन्ट गरेका हुन् ।

 

पत्रकार तिमिल्सिनाले आफ्नो ट्वीटमा एपमार्फत सरकारी सुविधा पाउने सम्भवतः नेपालीहरु नै पहिलो भएको आशय व्यक्ति गरेका थिए । उनले आफ्नो ट्वीटमा अमेरिका, अष्ट्रेलियाजस्ता देशका बासिन्दाले पनि एपबाट अहिलेसम्म सरकारी सुविधा पाउन नसकेको जनाएका छन् । ती देशका बासिन्दा अहिले पनि कार्ड र क्युआर कोर्डमा नै सीमित छ भनी ट्वीटमा जनाइएको छ ।

 

 

उनको भनाइलाई धेरै रुचाएका छैनन् र कमेन्टमा धेरैले आलोचना गरेका छन् । यस क्रममा फेकप्रसाद शर्मा ट्वीटर ह्यान्डलले रोमनमा ‘हाहा हसाउँछ हनुमान जगत्ले’ कमेन्ट गरेको छ । 

 

यसको प्रतिवादमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलबाट कमेन्ट गरिएको छ । रोमनमा लेखिएको कमेन्ट यस्तो छ, ‘अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै ङिच्च दाँत देखाउने अनि हसायो भन्ने ।’

 

याे ट्वीट बुधबार तीनबजेर ४० मिनेटमा गरिएकाे  थियाे । 

 

 

हाल ती दुवै कमेन्ट उक्त स्टाटसबाट हटाइएको छ । 

 

पत्रकार सन्तोष घिमिरेले प्रधानमन्त्रीको कमेन्टको स्क्रिन सट राख्दै ट्वीटरमा भनेका छन्, ‘प्रधानमन्त्रीको औपचारिक टुइटर ह्याण्डलबाट फेकप्रसाद शर्मालाई जवाफ ??? हैट ।’

 

 

सरकारले गत माघमा ‘नागरिक एप’ सञ्चालनमा ल्याएको हो । सरकारले दिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको थियो ।

 

एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने लगायतका विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने जनाइएको थियो ।

 

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने सरकारले जनाएको छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिन सकिनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै