अपहरणकारी सफाइ प्रकरणः अनुसन्धान अधिकृत सहित तीनलाई विभागिय कारबाही सिफारिस
काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ ।
घटनाको अनुसन्धान अधिकृत रहेका नानीकाजी थापा, एक असइ र हवल्दारलाई विभागीय कारबाही गर्न अनुसन्धान समितिले सिफारिस गरेको छ । । अनुसन्धान प्रतिवेदनमा उनीहरूको नियोजित रूपमा मिलेमतो नरहेको समेत समितिले उल्लेख गरेको छ ।
अपहरणको गरेको आरोप लागेका बुढाथोकीलाई भारतीय नागरिक भएको र घटनाका आरोपित भन्ने पुष्टि हुुन नसकेको भन्दै दुर्गाकुमार बुढाथोकीलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंमाथि छानबिनका लागि समिति गठन गरेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
समितिले अनुसन्धान र अभियोजन प्रणालीलाई त्रुटिरहित बनाउन महानगरीय प्रहरी परिसरमा मुद्दा हेर्ने गरी प्रहरी उपरीक्षक (एसपी) राख्नुपर्ने सुझाव समेत दिएको छ ।
काठमाडौंमा अत्याधिक जाहेरी आउने र चापका कारण कतिपय अवस्थामा लापरबाही हुने भएकाले मुद्दाको अनुसन्धान र निरीक्षणमा खटाउने गरी गरी एसपी खटाउनुपर्ने सुझाब एसएसपी सिंह नेतृत्वको छानबिन समितिले दिएको हो ।
एक पेसेवर अपहरणकारी समूहका सदस्य बुढाथोकीले पर्याप्त प्रमाणको अभावमा सफाइ पाएपछि अनुसन्धानमा भएको कमजोरी बुझ्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो। समितिले गत आइतबार आफ्नो प्रतिवेदन बुझाउँदै दोषी प्रहरीलाई कारबाही गर्न र अनुसन्धान प्रणालीमा सुधार गर्न सिफारिस गरेको छ।
मुद्दामा लापरबाही हुनुको कारण मुद्दाको चाप धेरै रहेको र त्यसमा माथिल्लो निकायबाट अनुगमन र निरीक्षण नहुने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
एसएसपीको नेतृत्व रहने काठमाडौं परिसरमा एसपीको एक दरबन्दी छ । जो बढी अप्रेसनमा खटिने गर्दछन् । परिसर र मातहतका वृत्तको मुद्दाको अनुगमन,निरीक्षण र निर्देशन दिने काममा मात्र खटिने गरी अर्का एक एसपी राख्न सुझाब दिइएको एसएसपी सिंहले बताए ।
काठमाडौं परिसरमा डिएसपीको नेतृत्वमा मुद्दा शाखा छ । तर, त्यसले मातहतका वृत्तको नियमित अनुगमनसमेत गर्न भ्याउँदैन ।
परिसरमै धेरै मुद्दा हुने भएकाले पटकपटक कमजोरी हुने गरेका छन् । छानबिन समितिले मुद्दाको अनुसन्धानमा विशेषता बढाउन भने भनिएको छ ।
मुद्दा शाखामा सिनियर अधिकृतको संख्या बढाएर उनीहरूलाई जिम्मेवार बनाउन भनिएको छ ।
प्रतिक्रिया