अख्तियारको कमाण्ड सम्हाल्ने यी हुन् प्रमुख आयुक्त र आयुक्तहरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त पूर्वगृहसचिव प्रेमकुमार राईले आफ्नो पदभार सम्हालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राईसहित विभिन्न संबैधानिक निकायमा नियुक्त पदाधिकारीलाई आज बिहान पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।
राईसँगै आयोगका नवनियुक्त आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि पदभार ग्रहण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
को हुन् राई ?
पूर्वगृहसचिव राई २०१८ सालमा संखुवासभामा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका थिए । संखुवासभाको खाँदबारीस्थित हिमालय माविमा एसएलसीसम्मको अध्ययन गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए ।
२०३६ सालमा शंकरदेव क्याम्पसमा आई.कम र २०४५ सालमा शंकरदेव क्याम्पसबाट एमबीए अध्ययन पूरा गरे । अध्ययनकै क्रममा उनले २०४० साउन १ मा लेखापालमा नाम निकालेका थिए ।
२०४४ सालमा शाखा अधिकृतमा नाम निकाले । उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धाबाट नाम निकालेका थिए । राईले यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा विभिन्न भूमिकामा काम गरिसकेका छन् ।
चन्द पूर्वएआइजी, सिलवाल पूर्वन्यायाधीश
आयुक्तमा नियुक्त जयबहादुर चन्द नेपाल प्रहरीका पूर्वएआइजी हुन् । २०७३ सालमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनलाई आईजीपीमा बढुवा गरिएको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेपछि उनले पदबहाली गर्न पाएका थिएनन् ।
बैतडीमा जन्मिएका चन्द २०४४ चैत २९ गते प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थिए । अर्का आयुक्त किशोरकुमार सिलवाल भने पूर्वन्यायाधीश हुन् ।
प्रतिक्रिया