नेपाल राष्ट्र बैंकको निर्देशन लत्याएरै यी बैंकले बुधबार अर्बौ उठाए
नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् ।
बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर्को शाखाले भने रकम लिएको छ । यसको पछिल्लो उदाहरण हिमालयन बैंक लिमिटेड भएको छ । हिमालयन बैंक लिमिटेडका विभिन्न शाखाले रकम लिन आनकान गरेपछि प्रहरी, सशस्त्र, सेना, निजामती कर्मचारी र ठेकेदार तथा व्यवसायीहरुले आफ्नो रकम बैंकको ठमेल शाखामा जम्मागर्ने सुविधा पाएका हुन् ।
हिमालयन बैंकको ठमेल मुख्य शाखा हो । ठमेल शाखामा कार्यरत एक उच्च तहका कर्मचारीका अनुसार विभिन्न ब्यक्तिका नाममा स्रोत समेत नखुलाई ठुलो रकम बैंकले मुद्दत्ती खातामा जम्मा गरेको छ । यही शाखामा बैंककै केही कर्मचारी समेतले रकम जम्मा गरेका छन् ।
तर, त्यही बिडिङमा संस्थागतमा सबैभन्दा बढी ब्याजदर दिएको हिमालयन बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानीको कोषको निक्षेप जोगाउन सफल भएको छ ।
बैंकहरुले रकम अभाव भएको भन्दै आफूखुुसी ब्याजदर बढाएपछि नेपाल राष्ट्र बैंकले मंगलबार राती ब्याजदर घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बुधबार वेवसाइट मार्फत नयाँ ब्याजदरको सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था लागु गरेपनि बढी ब्याजदर दिएका बैंकहरुले ३ गते अर्थात बुधबार नयाँ ब्याजदर सार्वजनिक गरेनन् । अनि पुरानै ब्याजदरमा आफूखुसी रकम लिए ।
व्यक्तिगत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको एनआईसी एशिया बैंकले ११ दशमल १० प्रतिशत नै ब्याजदर दिएर रकम उठाएको छ । केही बैंकले बुधबारदेखि नै राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेपनि ब्याजदर बढाएका बैंकहरुले भने बुधबार सो निर्देशन पालना गरेनन् ।
व्यक्तिगत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको एनआईसी एशिया बैंकले १० अर्बजति अरु बैंकको निक्षेप तानेको अनुमान बैंकरहरुको छ । मंगलबार राती दिएको निर्देशन बुधबारदेखि कार्यान्वयन गर्नुपर्ने भएपनि बढी ब्याजदर दिएका बैंकहरुले कार्यान्वयन नगरेको गुनासो केही बैंकरहरुको छ ।
‘राष्ट्र बैंकले भने अनुसार ब्याजदर बृद्धि नगरेका हामीहरु मारमा पर्यौ, राष्ट्र बैंकले ब्याजदर नबढाउने निर्देशन समेत बुधबारपनि कार्यान्वयन भएन, हाम्रो पैसा एनआईसीमा गयो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । ति बैंकका सीइओका अनुसार बुधबार मात्रै ५० करोडजति रकम एनआईसी एशियामा लैजाने भन्दै ग्राहकले लगेका छन् ।
बुधबार राष्ट्र बैंकका नियमन विभागका प्रमुख देवकुमार ढकालले सबै बैंकका सीइओलाई फोन गरेर ब्याजदर कति हुन्छ भनेर जिज्ञासा राखेका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुने छ ।
कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार साँझ उल्टाएको राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको अधिकतम ब्याज दर निर्धारण गरिदिएको थियो।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुका लागि अधिकतम ९ दशमलव ३ प्रतिशत ब्याज निर्धारण गरिदिएको थियो। तर सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकलाई ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिन पाउने सुविधा थियो । विकास बैंकहरुले ९ दशमलव ५ र फाइनान्स कम्पनीहरुले ९ दशमलव ६ प्रतिशतसम्म ब्याज दिन पाउने छन्। समस्याग्रस्तबाट मुक्त भएकाहरुले थप शुन्य दशमलव १५ प्रतिशतसम्म ब्याज दिन पाउने छन्।
राष्ट्र बैंकले मंगलबार साँझ ब्याज दर अघिल्लो महिनाको भन्दा १० प्रतिशत तलमाथि मात्र गर्न पाइने निर्देशन दिएको थियो। साथै ब्यक्तिगतको भन्दा संस्थागतको १ प्रतिशत बिन्दु बढि ब्याज हुनु पर्ने ब्यवस्था गरेको थियो। यसबाहेक कात्तिकका लागि घोषणा गरिएको ब्याज खारेज गरेर असोजको ब्याजका आधारमा १० प्रतिशत तलमाथि गर्न पाइने ब्यवस्था गरेको थियो।
बचततर्फ ११ बैंकले नीति मिचेका छन् भने मुद्दतितर्फ ६ बैंकले नीति मिचेका छन्। बैंकहरुले १० प्रतिशतलाई उल्लङघन गरेर बचततर्फ ५४ प्रतिशतसम्म ब्याज बढाएका छन्। मुद्दतितर्फ १४ प्रतिशतसम्म ब्याज बढाएका छन्।
प्रतिक्रिया