चारा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय
भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ ।
झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १५ फरवरीमा अदालतले दोषी ठहर गरेको हो ।
झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दा थियो । २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा रिहा भएको बीबीसी हिन्दीले जनाएको छ ।
सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो । जतिबेला लालु बिहारका मुख्यमन्त्री थिए ।
सन् १९९६को सुरूदेखि नै यस प्रकरणको हल्ला सुरू भएको थियो । यस मामलामा कूल ३८ जना आरोपी थिए । सीबीआईले यी सबैविरुद्ध २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया