अन्तरिक्ष अनुसन्धानको ‘शक्ति’ बन्ने बाटोमा युएई
अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ ।
सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्थापना भएको थियो । पछिल्ला केही उदाहरणले पनि युएई अन्तरिक्ष शक्तिको रुपमा उदाएको देखिन्छ ।
यसको राम्रो र महत्वपूर्ण उदाहरणमा गत माघ २७ मा मंगल ग्रहको कक्षमा अन्तरिक्ष यान पुर्याएर प्राप्त गरेको ऐतिहासिक सफलतालाई लिन सकिन्छ । युएईले कार जत्रो आफ्नो यानलाई स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा मंगल ग्रहको कक्षमा पु¥याएको थियो ।
अल अमाल अर्थात् आशा नामको यान मंगलग्रहको कक्षमा घुमिरहेको छ । युएई रातो ग्रहमा कक्षमा पुग्ने पहिलो अरब देश मात्रै होइन, विश्वको पाँचौं देश पनि हो । अमेरिका, तत्कालीन सोभियत संघ, युरोपेली संघ, भारतले यो सफलता हात पारेका थिए ।
पहिलो प्रयासमै त्यो सफलता हात पार्ने भारतपछि दोस्रो स्थानमा युएईको नाम आउँछ । पछिल्लो पटक अन्तरिक्ष विज्ञानमा आक्रामक रुपमा आएको चीनले समेत यो उपलब्धि हासिल गर्न सकेको छैन ।
मंगल मिसनबाट प्राप्त गरेको सफलताले युएईको राष्ट्रिय गौरवलाई बढाएको छ नै मानव संसाधनको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । अल अमाल मिसनमा काम गर्ने २ सय इन्जिनियरहरु मध्ये ३४ प्रतिशत महिला थिए ।
मंगल ग्रहमा यान पठाउने घोषणा गर्दा युएईले स्पेस एजेन्सीसमेत स्थापना गरेको थिएन । त्यस अघि उसले स्याटलाइट मात्रै पठाएको थियो । न त कुनै ग्रह सम्बन्धी वैज्ञानिक युएईमा थिए । उसले भर्खरै इन्जिनियरहरु जम्मा गर्दै थियो, जसको औसत उमेर २७ वर्ष थियो ।
तर गत माघमा प्राप्त गरेको सफलताले अब युएई त्यतिमै नरोकिने देखाइसकेको छ । बेलायत र फ्रान्ससँगको सहकार्यमा साना स्याटलाइटहरु प्रक्षेपण गरेको युएईले सन् २०१९ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आफ्नो अन्तरिक्षयात्री पठाएको थियो ।
यही अक्टोबरमा युएईले शुक्र ग्रहको अन्वेषण र क्षुद्र ग्रहको विषयमा यान अवतरणको योजना बनाएको छ । शुक्र ग्रहको कक्षमा पुग्ने यान निर्माण गर्न ७ वर्ष लाग्ने अनुमान छ । सन् २०२८ मा यान पठाउने लक्ष्यका लिइएको छ, जुन यान सन् २०३३ सम्ममा अवतरण हुनेछ ।
तर त्यसअघि नै युएईले सन् २०२४ मा चन्द्रमा यान पठाउने गरी काम गरिरहेको छ । त्यसैगरी एक सय वर्षभित्र मंगलग्रहमा मानव बस्तीको निर्माण गर्ने घोषणा पनि गरेको छ ।
यति हुँदाहुँदै पनि युएईले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई स्वतन्त्र रुपमा सञ्चालन गर्न अझै धेरै काम गर्न आवश्यक छ किनभने अहिले गरिएका अधिकांश गतिविधिहरु अमेरिकाको कोलोराडो विश्वविद्यालयसँगको सहकार्यमा हुँदै आएको हो ।
अन्तर्राष्ट्रिय प्रतिष्ठा र पेट्रोल अर्थतन्त्रको विकल्प
अन्तर्राष्ट्रिय शक्तिहरुले सबै क्षेत्रमा हुने भूसामरिक प्रतिस्पर्धामा अब्बल देखिन विभिन्न कार्यक्रमहरु गर्दै आएभन्दा फरक युएईले भने दुई वटा चाहनाबाट अन्तरिक्ष कार्यक्रम सञ्चानल गरेको देखिन्छ । पहिलो अन्तर्राष्ट्रिय प्रतिष्ठा र अर्को तेलमा निर्भर अर्थतन्त्रको विकल्पको खोजी ।
पहिलो विषयमा चर्चा गर्दा बिर्सन नहुने कुरा भनेको युएईको आकाशको सीमितता हो । युएईमा ९९ लाख मानिस बसोबास गर्दै आएका छन् । ८३ हजार वर्ग किलोमिटरको क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुमा १२ प्रतिशत मात्रै युएईका नागरिक छन् ।
यति हुँदाहुदै पनि खाडी क्षेत्रमा युएई अन्तर्राष्ट्रिय मञ्चमा साउदी अरब जत्तिको सुनिने नाम हो । युएईको नेतृत्व विश्वमा स्वीकार्य पनि छ । त्यसैले अन्तरिक्ष शक्तिको रुपमा स्थापित भएर आफ्नो नामलाई निरन्तर रुपमा अघि बढाउन उसले चाहेको देखिन्छ ।
इमिरेटको अर्को चाहना भनेको तेल अर्थतन्त्रको विकल्प निर्माण गर्ने हो । युएई खाडी क्षेत्रमा साउदी अरबपछिको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । ४ सय २१ अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन भएको युएईलाई संसारले बुझ्दै र चिन्दै आएको विषय भनेको त्यसको तेलमा आधारित अर्थतन्त्र हो ।
अहिले युएईको अर्थतन्त्रमा पेट्रोलियम पदार्थ र ग्यास उत्पादनको प्रमुख हिस्सा छ । उसले अर्थतन्त्रलाई विविधिकरण गर्न खोजेको छ । सन् २००९ मा इमिरेटको अर्थतन्त्रमा ८५ प्रतिशत हिस्सा यो दुई उत्पादनले ओगट्थ्यो । तर अहिले त्यो घटाएर ७७ प्रतिशतमा झारेको छ । त्यसलाई एक तिहाइमा झार्ने योजना छ ।
यसका लागि अन्तरिक्ष उद्योग, अन्तर्राष्ट्रिय वित्तीय र पर्यटन केन्द्रको रुपमा रुपमा विकास गर्ने योजना बनाइएको छ । युएई सरकारले ज्ञानमा आधारित अर्थतन्त्र र समाज निर्माण गर्न खोजेको हो । आफूलाई युरोप, एसिया र अफ्रिकाको सम्पर्क गर्न विन्दुको रुपमा विकास गर्ने पनि उसको योजना छ ।
अन्य क्षेत्रीय शक्तिहरुसँग प्रतिस्पर्धामा अग्रस्थानमा पुग्नका लागि अन्तरिक्ष अन्वेषण नयाँ क्षेत्र हुनेछ । अमेरिकामा जस्तै युएईमा पनि स्थानीय निजी क्षेत्रका कम्पनीहरुलाई अन्तरिक्ष अनुसन्धानमा लगाउने जनाइएको छ ।
प्रतिक्रिया