अध्यक्ष महर्जनको निधनले अपूरणीय क्षति : सुनचाँदी रत्न तथा आभूषण महासंघ
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ । महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन् ।
महर्जनको निधनबाट राष्ट्रले समेत एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको वक्तव्यमा उल्लेख छ २०२१ मंसिर ८ गते ललितपुरको पिलाछेँमा जन्मेका महर्जनको कात्तिक १ गते निधन भएको थियो । महर्जन महासंघका संस्थापक अध्यक्ष थिए ।
‘आभूषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनाउने भीष्म प्रतिज्ञाका साथ मुलुकभरका गहना व्यवसायीहरु र सम्बन्धित क्षेत्रका संघहरुलाई संगठित गरी बहुमूल्य गहना तथा आभूषण क्षेत्रमा मुलुककै पहिलो महासंघको स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निवाह गर्नुका साथै जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान गर्नुभयो’, महासंघद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।
‘अत्यन्त सरल स्वभाव र मृदुभाषी स्वर्गीय महर्जनले स्थापना गर्नुभएको आरबी डायमण्ड ज्वेलर्स प्रालि झण्डै २५ वर्षको अवधिमा देशको एक प्रमुख ज्वेलर्स बन्न सफल भएको छ । नेपाली मौलिक बहुमूल्य गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराई निर्यात प्रवर्द्धन गर्ने कार्यमा उहाँ निरन्तर सक्रिय रहनुभयो। यस कार्यमा आम गहना व्यवसायीलाई अभिप्रेरित गर्नुका साथै नेपाल सरकार एवं मुलुकका सम्बन्धित निकायको ध्यानाकर्षण गराई रहनुभयो,’ वक्तव्यमा उल्लेख छ ।
महर्जन नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलका अध्यक्ष, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुनुका साथै नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष र नेपाल कोरिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री, नेपाल बर्मा चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री आदि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुमा समेत सक्रिय थिए ।
उनले ‘माया फाउण्डेसन’ को स्थापना गरी विपन्न र पिछडिएका समुदायका लागि सीप तथा रोजगारीमूलक कार्यक्रमसमेत सञ्चालन गरेका थिए । २०७२ सालको विनाशकारी भूकम्पबाट आवास गुमाएका विपन्न परिवारको लागि फाउण्डेसनद्वारा प्रवर्द्धित ‘पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’ लाई नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले गुरुयोजनाको रुपमा ग्रहण गरी मुलुकभर कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।
महर्जनले न्हुदँ राष्ट्रिय समारोह समिति नेपाल संवत् ११४० र ११४१ का अध्यक्ष भई कार्य गरेका थिए । ‘दुःखको यस घडीमा धैर्यतापूर्वक शोकलाई शक्तिमा परिणत गरी उनको अधुरो सपनालाई साकार पार्नु नै हामी सबैको परम कर्तव्य र दायित्व हुन आएको छ’, महासंघद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।
प्रतिक्रिया