कास्की, बाग्लुङ र स्याङ्जा प्रहरी कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट घोषित
जिल्ला प्रहरी कार्यालय कास्की गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वैशाखदेखि असारसम्मको चौथो त्रैमासिकमा जिप्रका कास्की उत्कृष्ट बन्न सफल भएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उक्त घोषणा गरेको हो । हाल उक्त प्रदेशको प्रहरी प्रमुखमा डीआईजी दिवेश लोहनी रहेका छन् ।
यस्तै, सोही अवधिमा जिल्ला प्रहरी कार्यालय बाग्लुङ द्वितीय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तृतीय स्थान हासिल गरेको छ । उक्त अवधिमा कास्की प्रहरी प्रमुखमा एसपी जीवन श्रेष्ठ, बाग्लुङ एसपी कृष्ण पल्ली मगर र स्याङ्जामा एसपी होमिन्द्र बोगटी थिए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी र मातहका कार्यालयहरुका प्रमुखबीच भएको कार्यसम्पादन सम्झौता २०७७ अनुसार जिल्ला प्रहरी कार्यालयहरु गरेको कामकारबाहीको आधारमा पुरस्कृत गरिएको हो ।
प्रहरी कार्यालयहरुले शान्ति, सुरक्षा अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रहरुमा गरेका कार्यहरुको मूल्यांकन गरी उत्कृष्ट जिल्ला घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसका लागि प्रदेश कार्यालयले एसएसपी नरबहादुर केसीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको थियो । समितिले पेस गरेको मूल्यांकन र प्रदेश प्रहरी प्रमुखको मूल्यांकनको आधारमा ती कार्यालयलाई पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया