अमेरिकामा अवकाशप्राप्त प्रधानसेनापति र सीआईए प्रमुखबीच भेट
अमेरिकामा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री र सीआईएका अवकाशप्राप्त प्रमुख जनरल डेभिड हावेल पेट्रियसबीच भेटवार्ता भएको छ । क्षत्रीले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिएका हुन् ।
क्षत्री हाल पारिवारिक भेटका लागि अमेरिकामा रहेका छन् । ‘डेभिडसँगको भेट मेरो लागि सम्मान र सौभाग्यको विषय हो, साथै अवकाश प्राप्त जनरल थोमस बर्जेसनसँग मिलेर खुसी लाग्यो,’ उनले उल्लेख गरेका छन् ।
अवकाशप्राप्त सेनापति र डेभिड हाइटीको शान्ति सेना मिशनदेखि असल मित्र हुन् । सन् १९९५ मा संयुक्त राष्ट्र संघ अन्र्तगत शान्ति सेनामा नेपाली कन्टिन्जेन्टका मेजर क्षत्री र तत्कालिन प्रमुख सेनानी रहेका डेभिडबीच सहकार्य भएको थियो ।
जनरल डेभिड अफगानिस्तानमा रहेको अमेरिकी सेना नाटो बलका अवकाशप्राप्त कमान्डर पनि हुन् । उनी ६ सेप्टेम्बर २०११ देखि ९ नोभेम्बर २०१२ सम्म अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को प्रमुख भएका थिए । उनी ३७ वर्षसम्म अमेरिका सेनामा आबद्ध थिए ।
प्रतिक्रिया