दुई एसपीसहित दर्जनौ प्रहरी घाइते र चारजनाको मृत्यु भएको मोतिपुर घटनाका मास्टरमाइन्ड पक्राउ
प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको जनाएको छ ।
उनी बिरुद्ध ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
प्रहरीले मुसलमानको डेरा कोठामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला पारेको छ । प्रहरीले सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।
यही २४ असोजमा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । जसमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भयो भने । प्रहरीका एसपी मनोज केसी र सशस्त्रका एसपी राजेश उप्रेतीसहित दर्जनौं सुरक्षाकर्मी घाइते भए ।
विवाद के हो ?
सरकारले १ चैत २०७२ मा मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।
सरकारले उक्त क्षेत्रको जग्गा औद्योगिक क्षेत्र लिमिटेडका नाममा २०७३ सालमै दर्ता गरिसकेको छ । सबै दलको सहमतिमा २०७३ मा ८ सय १३ बिघा औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनाइएको छ । त्यसअनुसार घनावस्ती बाहेक अन्य क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सहमति भएको छ ।
तर, प्रशासनका अनुसार पछिल्लो समय त्यहाँको करिब २०० बिघा नदी उकास क्षेत्रमा कब्जा गर्ने प्रयास भइरहेको छ । त्यसका लागि अन्य जिल्लाबाट पनि मानिसहरु आइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
उनका अनुसार भूमाफियाले संगठित रुपमा जग्गा कब्जाको अभियान थालेका छन् । दुई सातायता लुम्बिनीसँगै कर्णाली, गण्डकी र वाग्मती प्रदेशबाट पनि यो क्षेत्रमा मानिसहरु आउन थालेपछि प्रशासनले अतिक्रण रोक्न थालेको हो ।
जग्गा कब्जा गर्नेहरुले नयाँ बस्ती, उजिर सेन बस्ती गणतन्त्र बस्तीलगायत दर्जनभन्दा बढी बस्ती विकास समिति बनाएका छन् । निश्चित रकम लिएर जग्गा कब्जा गर्ने समूह नै सक्रिय रहेको प्रशासनले जनाएको छ ।
उनीहरुले कब्जा गरेको जग्गामा अस्थायी टहरा बनाउने र दिनभर कुर्ने गरेका छन् । राति भने भाडाको घरमा सुत्न जाने गरेका छन् । यसरी औद्योगिक क्षेत्र नै कब्जा हुने स्थिति देखिएपछि प्रशासनले केही सातादेखि टहरा हटाउने प्रयास गर्दै आएको थियो ।
त्यसअनुसार बल प्रयोग गरेरै भगाउने र टहरामा आगो लगाएर नष्ट गर्दै आएको थियो । प्रहरीका अनुसार गत भदौको अन्तिमसम्म यसरी नै ४ हजार अस्थायी घटटहरा भत्काइएको थियो । अतिक्रमण रोक्ने त्यही प्रयास अनुसार आइतबारको घटना हुन पुगेको हो ।
प्रतिक्रिया