प्रधान सेनापतिद्वारा बेलीबृज उद्घाटन तथा सडक आयोजना निरीक्षण
प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।
बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।
बेलीवृज उद्घाटन कार्यक्रममा रक्षा सचिव श्री किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधि र नेपाली सेनाका रथी तथा अधिकृतको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमपछि प्रधानसेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधीन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरी आयोजनाको प्रगति विवरणलगायत विविध पक्षका बारेमा जानकारी लिनुका साथै सडक निर्माण कार्यमा परिचालित सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए ।
सेनाले आर्थिक वर्ष २०७३/७४ बाट उक्त सडक निर्माणको कार्य प्रारम्भ गरेको हो ।
नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यले समग्र देश विकासमा टेवा पुर्याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने सेनाको विश्वास छ ।
प्रतिक्रिया