Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

आसरा दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन सफलः प्रहरी महानिरीक्षक 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन् । उनले लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन केन्द्र सफल रहेको समेत उल्लेख गरे । 

 

 

लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि एक साझा चुनौतीको विषय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए । 

 


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले  आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

 


सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्याउने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गरे । 

 


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए  । सो अवसरमा उनले  केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गरे ।

 

कार्यक्रममा केन्द्रकी अध्यक्ष  सिर्जना थापाले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस केन्द्रले प्रयोगकर्ताहरूलाई उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा दत्तचित्त भई लागि परेको उल्लेख गरिन् । 

 

कुलतमा फसेका युवावर्गलाई कुलतबाट मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताउँदै अध्यक्ष थापाले लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम, योगा अभ्यास जस्ता कार्यहरूलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिइन्  । 

 


सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 


समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।


 

कार्यक्रमको दोस्रो सत्रमा केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यहरुलाई शारीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्नको लागि बनाइएको व्यायमशाला कक्षको उदघाटन गरेकी थिइन्  । उनले केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगंगालाई प्रशंसापत्र प्रदान गरिन् । साथै उनले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत २ जनालाई १ वर्षको मासिक छात्रवृत्ति समेत प्रदान गरिन्। 

 


उक्त अवसरमा केन्द्रकी उपाध्यक्ष श्रीमती वविता पालले महिला आसरा सुधार केन्द्र तिलगंगामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार वितरण गरेकी थिइन् भने केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले आन्तरिक खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरिन्  । उक्त अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै